रसुवाको भोटेकोशी नदीमा भिषण बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

रसुवा । रसुवाको भोटेकोशी नदीमा अकास्मात भिषण बाढी आएको छ ।

भोटेकोशी नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए।

‘भोटेकोशीमा चिनियाँ क्षेत्रबाट ठूलो बाढी आएको छ। गोसाइँकुण्ड गाउँपालिका- २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको देखिन्छ,’ उनले भने।

भन्सार विभागका महानिर्देशक खेमलाल भुसालले टिमुरे क्षेत्रमा बाढी आएको भनेर त्यहाँका कर्मचारीले बिहान ८ बजे खबर गरेको बताए।’अरू के के भयो भन्ने कुरा आएको छैन। साथीहरु कति हुनुहुन्छ भन्ने मै छौं हामी। ६/७ जना सम्पर्कमा हुनुहुन्छ। अरू फोन पनि लागेको छैन,’ उनले भने।

सहायक सिडियो अधिकारीले तल्लो तटीय क्षेत्रमा पनि खबर गरिसकेको बताए। ‘नुवाकोट र धादिङलाई पनि खबर गरिदिएको छु। बाढी चाहिँ अकल्पनीय छ। ठूलो छ,’ उनले भने।