काठमाडौँ । भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालकी जानकी तामाङले तीन स्वर्ण पदक जितेकी छन्।
चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले विश्व तेक्वान्दोको पुम्से विधाअन्तर्गत एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी डोजाङले जनाएको छ।
अगस्ट २१ देखि २३ सम्म हैदराबादको गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा प्रतियोगिता भएको थियो। अमिकल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २४ देशका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से र फ्रिस्टाइललगायत विधामा प्रतिस्पर्धा भएको थियो। तामाङले एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण जितेकी हुन्।
उनको सफलताले चन्द्रागिरिमा तेक्वान्दो खेलको विकास तथा खेलाडी उत्पादनमा भइरहेका प्रयासलाई थप उत्साह दिएको डोजाङले जनाएको छ।
डोजाङका अनुसार तामाङको उपलब्धि निरन्तर प्रशिक्षण, अनुशासन र मेहनतको परिणाम हो। प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले उनको सफलताप्रति खुसी व्यक्त गरेका छन्।







