नेपाली जनमानसमा ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको नाश’ भन्ने एउटा लोकोक्ति जनजिब्रोमा झुण्डिएको छ । विशेष गरी जब कसैले कुनै काम सहजै फत्ते गर्छु भन्दै फूर्ती लगाउँछ तर काम बनाउनुको साटो झन बिगार्दछ, त्यतिखेर उक्त व्यक्तिको फाँइफुट्टीमाथि कटाक्ष प्रहार गर्दै यो उखानको प्रयोग गर्ने गरिन्छ । नेपाली राजनीतिका खास परिघटनालाई बेलाबखत उखान टुक्काको चातुर्यपूर्ण प्रयोग गर्दै हाँसोठट्टा र व्यङ्ग्यविनोदको माहौल खडा गर्ने खड्गप्रसाद ओली यतिबेला दुई तिहाइको प्रचण्ड बहुमतसहितको मात्र होइन, माक्र्सवादलाई आफ्नो स्वार्थ अनुकूल जसरी पनि व्याख्या गर्ने विशिष्ट खुबी भएका नेकपा नामको बोइङका अर्का पाइलट प्रचण्डको साथ सहयोगमा देशको ड्राइभिङ सिटमा आसीन छन् । अझ गज्जब त के छ भने बयलगाढाबाट अमेरिका पुगिदैन भनेर गणतन्त्र स्थापनार्थ चलेको जनअन्दोलनको उपहास गर्ने पात्र केपी ओली दुई तिहाइ बहुमतसहितको गणतान्त्रिक सरकारको कार्यकारी प्रमुख छन् । अनेक राजनैतिक प्रोपोगाण्डा फैलाएर मिडियामा सधैं आफूलाई प्रभावशाली नेताको छवि देखाउन सफल ओलीलाई उखान टुक्काको खेती गरेर हाँसोको फोहोरा छुटाउन जति सजिलो छ, त्यति सहज गफलाई काममा परिणत गर्ने कुरा होइन रहेछ भन्ने कुरा बोध भएको हुनुपर्छ । राष्ट्रियताको भावनालाई भजाएर, जनमत कुम्ल्याएर सत्ताको बार्दलीमा पुग्न जति सहज छ, जनताको दैनन्दिनका सवाललाई सम्बोधन गर्दै जनताको हृदयमा बस्नु फलामको चिउरा चपाउनु हो भन्ने पनि पक्कै अन्तरहृदयमा बोध भएकै हुनुपर्छ ।
नेपाली राजनैतिक इतिहासलाई पल्टाएर सर्सर्ती केलाउने हो भने आजसम्म सत्तामा पुगेका जो कोही फगत मट्ङ्ग्राको सत्यनाश गर्ने पात्रभन्दा फरक साबित नभएको निष्कर्षमा पुग्नलाई कुनै राजनीतिशास्त्रको घागडान विद्वान भइरहनु पर्दैन । पृथ्वीनारायण शाहले थालेको राज्यविस्तारको अभियान टुङ्गोमा पुगेपछिको नेपाली इतिहासको समग्र दृष्टिगोचर गर्दा नेपाली इतिहास केवल सत्ताको छिनाझप्टी र शक्तिको खिचातानीको पुलिन्दा हो भन्ने निचोडमा पुगिन्छ । चाहे राणा शासनको उदयअघि होस् वा १०४ वर्षे जहानिया राणाकाल, सातसालमा राणा शासनको पतनपछिको प्रजातन्त्र स्थापनापछिको समय, राज्यको बागडोर राजाको हातमा रहेको निरङ्कुश पञ्चायती शासनकाल, ०४६ सालको जनआन्दोलनपछि पुर्नस्थापित बहुदलीय प्रजातन्त्रको अभ्यासकाल, माओवादी जनयुद्ध र ०६२÷०६३को जनआन्दोलको बलमा भएको राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनापछिको घडीलाई हेर्ने हो भने बडो खेदका साथ भन्नुपर्छ कि नेपाली जनता आजसम्म कुनै अमूक व्यक्तिलाई सत्ताको सिंहासनमा पु¥याउने सिढी मात्र बने, बनाइए । हिजो सत्तामा पुग्नुअघि जजसले जनहित र जनअधिकारकै दुहाइ दिए, तिनले सत्तासीन हुनासाथ व्यक्तिगत लाभ हेतु जनताको आशा र अपेक्षालाई लोपार्दै राज्यको दोहनमा अन्धो भएर लागे ।
आजसम्म नेपाल केवल राजनैतिक प्रयोगशालामा सीमित भएको छ र नेपाली जनता गिनिया पिङ बनाइएका छन् । यहाँ अनेक आन्दोलनका आँधीहरु आए, परिवर्तनका ज्वारभाटाहरु उठे, क्रान्ति नै भयो अब जनताले आँसु झार्ने र गुनासो गर्ने दिनहरु सकिए भनेर अनेक ललिपप बाँडिए तर अन्ततः सबै आँधीहरु चिया कपका तुफान साबित भए । जनताको ठूलो त्याग तपस्या बलिदान रगत पसिना आँसुको भेलले सिंचेर बल्लतल्ल आएको गणतन्त्रमा पनि जनतासँग आफूले बनाएको भन्ने एक थान संविधान छ तर जिन्दगीका अभाव बेथिति र व्यथाको कहानी ज्यूँ का त्यूँ छन् ।
जनताको काखमा हुर्केर जनताले नै खुवाएको रुखोसुखो खाएर प्रधानमन्त्री र मन्त्री भइटोपलेका क्रान्तिकारी भनिएकाहरुको छुरा प्रहारले घाइते जनता यतिबेला घाउ सुम्सुम्याउदै तिनलाई सरापिरहेछन् । राजधानीबासी पिउने पानी नभएर काकाकूल छन्, ओली भने पानी जहाजको चुट्किला सुनाउँछन् । दूरदराजका गाउँमा सिटामोल नपाएर एउटा गरिब नेपाली अझै मृत्युसँग सम्झौता गर्न विवश छन् । सर्वत्र बलात्कारका कहालीलाग्दा घटनाहरुले त्राहीमाम छ समाज । निर्मलाको विभत्स बलात्कार गरेर हत्या गर्ने जघन्य अपराधीहरु खुलेआम हिडिरहेका छन् । निर्मलाले कहिले न्याय पाउँछिन् भनेर सोधिएको प्रश्नमा प्रधानमन्त्री ओली ‘निर्मलाको बलात्कार सरकारले गरेको होइन’ भन्ने ओठे जवाफ फर्काउँछन् । एउटा सचिवले अर्बौंको राजस्व छलेर राष्ट्रिय ढिकुटी तन्नम बनाउँदै आफू सुँगुरझैं मोटाउँछ तर न्यायालय टुलुटुलु तमासा हेरिरहन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुने पाइपलाइनमा रहेको आयुक्तको लाखौंको घुसकाण्डको भिडियो भाइरल हुन्छ– सामाजिक सञ्जालमा । तर, प्रम ओली लाजै पचाएर भनिरहन्छन– ‘म भ्रष्टाचार देख्न सक्दिनँ ।’
गाउँगाउँमा सुविधायुक्त स्वास्थ्य चौकीको प्रबन्ध र दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध गराउनुको साटो सरकारी हनुमानहरु दुर्गम गाउँकी एउटी महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर सुत्केरी गराएको घटनालाई ठूलो पराक्रमको रुपमा प्रचारबाजी गर्छन् । तस्करी र कालोबजारीका ठेकेदारहरुको साँठगाँठले गर्दा आकाश छोएको महङ्गीले जनताको मेरुदण्ड भाँचिएको अवस्थामा जिम्मेवार ठानिएको प्रधानमन्त्री जनताको न्यूनतम संवेदनाको खिल्ली उडाउँदै घरघरमा पाइपबाट ग्याँस वितरण गर्ने ठट्टा गर्दै आफ्नै आङको छारो उडाउँछन् ।
संसदीय अनुसन्धान उपसमितिले बाइडवडी काण्डमा अर्बौको भ्रष्टाचार भएको ठहर गर्दै दोषीलाई गरेको कारवाही सिफारिसलाई खुला चुनौती दिँदै आफ्ना कार्यकर्तालाई सुनपानी छर्केर उन्मुक्ति दिने अभिप्रायले आफ्ना गोजीका गोठालाहरु समावेश गरिएको आयोग बनाउँछन्– सिङ्गो देशको मुखिया बनाइएका खड्गप्रसाद ओली । ३३ किलो सुन काण्डका अपराधीहरु राज्यको सुरक्षाको काखीमा च्यापिएर कानूनको धज्जी उडाउँछन् । राजतन्त्रकालीन राजामहाराजाको सौखिन कर्तुतलाई बिर्साउने गरी राष्ट्रपतिको तामझाम निर्बाध चलिरहन्छ हजारौंको बलिदानको जगमा उभिएको गणतन्त्रको मञ्चमा । प्रम ओली नयाँ युगको सुरुआत भएको घोषणा गर्दै जनताको रगत पसिनाले जम्मा भएको राज्यकोषको दुरुपयोगमा सहरका पोलपोलमा अखबारका पानाहरुमा विज्ञापन गर्न लाखौं खर्चिन्छन् ।
नेपाली जनताले एक थान संविधान प्राप्त गर्न शब्दको आयतनभित्र अटाउन नसक्ने मूल्य चुकाएका छन् । संविधानसभाको निर्वाचन गर्ने अवस्थामा पुग्नैका लागि नेपाल आमा हजारौं सपुतहरुले आफ्नो जीवन उत्सर्ग गरेका छन् । कति बाआमाहरु क्रान्तिको लागि सहिद भएको छोराछोरी सम्झेर अझै पनि भक्कान्छिन् । असङ्ख्य युवाहरु अपाङ्ग भएका छन्, कति बेपत्ता छन् जसको बारे हिजोका सहयात्रीलाई कुनै चिन्ता चासो रत्तिभर छैन जो आज सत्ताको मझेरीमा ढलिमली गरिरहेका छन् । राजनैतिक दलहरुकै अकर्मण्यता, निकम्मापन र राजनैतिक बेइमानीका कारण दुई दुई पटक अर्बौं खर्चिएर संविधानसभाको निर्वाचन गर्नुपर्यो । अर्थहीन लामो रस्साकास्सी र ठूलो नागरिक दबाबपछि जनताले बल्लतल्ल संविधान पाए र त्यही संविधानको मार्गचित्रमा हिडेर मुलुकमा प्रदेश र संघको निर्वाचन सम्पन्न भएका छन् । राजनैतिक अस्थिरताको कारण देश समृद्धिको दिशामा अग्रसर नभएको मध्यनजर गर्दै राजनैतिक स्थिरतासँगै आर्थिक विकास, दीर्घकालीन शान्ति, सुशासन र सुव्यवस्थाको सपना साकार तुल्याउन जनताले वाम गठबन्धनलाई विश्वासको मत दिएर सत्तासञ्चालनको आफ्नो जनादेश प्रकट गरे जसको फलस्वरुप केपी ओलीलाई दुई तिहाइको दम्भ देखाउने अवसर प्राप्त छ । जनताले अपार भरोसा गरेर इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनाइदिएका केपी ओलीको कार्यशैली के जनताको मर्मअनुरुप परिलक्षित छ त भन्ने प्रश्न सबैभन्दा सङ्गीन बनेर उभिएको छ ।
केपी ओलीको नेतृत्वमा रहेको सरकारले संविधानको प्रावधान विपरीत विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह करार गर्दै प्रतिबन्धित गर्ने घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टीलाई २००७ सालताका तत्कालीन सरकारले प्रतिबन्धित गरेको थियो, जसलाई अहिले सत्तामा रहेकाहरु नै घोक्रो सुकाएर अलोकतान्त्रिक र अराजनैतिक भन्थे । सबैभन्दा बिडम्बनाको कुरा त यो छ कि चुनावमा पराजित भएर लोप हुने भयले अस्तित्व रक्षाको लागि एमालेमा विलय भएर उपहारमा अध्यक्ष पद पाएका प्रचण्डले पनि हिजोका जनयुद्धका आफ्नै अनन्य सहयात्रीले नेतृत्व गरेको राजनैतिक दललाई प्रतिबन्धित गर्ने ओलीको बोलीमा लोली मिलाएका छन् । विभेदकारी राज्यको शोषक चरित्रको शासन व्यवस्थालाई जरैदेखि उखेल्ने उद्देश्यले सँगसँगै जीवनमरणको युद्धमा होमिएका तिनै बादल संसदमा विप्लव नेतृत्वको दलमाथि निषेधाज्ञा जारी गर्दा निकै ठूलो बहादुरी गरेको ढोङ रच्दैछन् । यी तिनै प्रचण्ड र बादल हुन्, जो आफूले नेतृत्व गरेको दललाई आतङ्ककारीको बिल्ला भिराएर प्रतिबन्ध लगाउदा र आफ्नो टाउकाको मूल्य तोक्दा विरोधको अग्नि वर्षा गर्दथे । आज दुईतिहाइको स्थिर सरकारका बाबजुद देश सर्वत्र अव्यवस्था र राज्यसंयन्त्र नातावाद कृपावाद र फरियावादको चङ्गुलमा कैद भएको छ । आम नेपालीको मनमा भ्रष्टाचार र कुशासन सामान्य कुरा हो भनेर पचाउने भयावह मनोविज्ञानले डेरा जमाएको छ । देशको प्रत्येक निकायमा व्याप्त भ्रष्टाचार र ब्रम्हलुटमाथि व्यङ्ग्य गरेर गायक पशपति शर्माको गीतसँग डराएर अघोषित प्रतिबन्ध लगाउने सरकारको ल्याकत उदाङ्गो भइसकेको छ । संघीयताको सफल कार्यान्वयनले गाउँगाउँमा राज्यको उपस्थिति हुने र सही अर्थमा जनतालाई सम्प्रभु बनाउनुपर्नेमा सरकारको रबैयाले संघीयता भालुको कन्पट हुने र अकल्पनीय अराजकता निम्तिने जोखिम बढेर गएको छ । देशमा जनआन्दोलन र गणतन्त्रको स्थापनापछि पनि हिजोका बेथिति र असमानता निर्मुल हुनुको सट्टा विकराल रुपमा बढेकोमा राज्यव्यवस्था संविधानको खोस्टामा नभएर व्यवहारमा समाजवादी हुनुपर्छ भन्ने माग राख्ने विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने मूर्खता सरकारले प्रर्दशन गरेको छ । सरकारको यो पश्चगामी कदमले कतै देशलाई फेरि हिंसाको भड्खालोमा जाक्ने षड्यन्त्र भइरहेको त छैन भन्ने सन्त्रास जनमानसमा उत्पन्न भएको छ ।
सरकारको ब्याक गियर छैन भनेर संसदमा चुरिफुरी गर्ने केपी ओलीसँग जनताले सोधिरहेको प्रश्न चाँहि यो हो कि आखिर सरकारसँग छ के ? सालासाली, भान्जाभान्जी, भतिजा भतिजी लगायतलाई राजदूतदेखि मन्त्रालयमा नियुक्ति दिएर बदनाम भइरहेको सन्दर्भमा वर्तमान सरकार राज्यस्रोतलाई दोहन गरेर सात पुस्तालाई पुग्ने सम्पत्ति सङ्ग्रह गर्ने हिजोका सरकारभन्दा के अर्थमा भिन्न छ ? समृद्धि सुशासन समानता र जनताको जीवनस्तरमा आमूल रुपान्तरण जस्ता खोक्रा आश्वासन नै बेच्ने र आफू सर्वशक्तिमान प्रधानमन्त्री भएको आत्मरतिमा रमाइरहने हो भने किन चाहियो गणतन्त्र ? गणतन्त्र स्थापनार्थ शीरमा कफन बाँधेर लडेका युवाहरु आज व्यर्थै प्राण हत्केलामा राखेर होमिएछ भनेर पछुताउने अवस्थाको सिर्जना कसले गरायो ? देशमा गरिब निमुखा र सीमान्तकृतहरुको सुदिन आउला भनेर लडेका युवाहरु अहिले फेरि आफूलाई बेच्न कोरियन इन्स्टिच्युट धाइरहेका छन् र खाडीको मरुभूमिलाई बाध्यताको आँसुले सिचाइ गरिरहेका छन् । विदेशी माटोमा लाखौं युवाले बगाएको रगत पसिनाको आर्जनले पठाएको रेमिट्यान्सले मुलुकको रक्तसञ्चार प्रणाली चलिरहेको छ । आखिर फेरि पनि सवाल यही हो कि केही अमूक व्यक्तिलाई राष्ट्रपति प्रधानमन्त्री मुख्यमन्त्री, मन्त्री बनाउन र राजनैतिक दलका कार्यकर्तालाई सरकारी पदहरुमा भर्ती गर्नका लागि नै गणतन्त्र र दुई तिहाइको दुरुपयोग गर्ने हो भने कि चाहियो यस्तो घीनलाग्दो दलाल संसदीय व्यवस्था ?
समष्टिमा भन्नुपर्दा यो देशमा क्रान्ति र परिवर्तनको नाउँमा धेरै आन्दोलनहरु भए र शासनव्यवस्था फेरबदल पनि भए तर राज्यव्यवस्थाको विभेदकारी र दमनकारी मूल चरित्र भने कहिले बदलिएन । शासनव्यवस्था बदल्छु भनेर जनताको नाउँमा कसम खानेहरु सत्ताको रछ्यानमा पुग्नासाथ शोषकको रुपमा आफै बदलिए । जुनसुकै तन्त्र आए पनि पात्रहरु मात्रै फेरिने परन्तु प्रवृत्ति र संस्कार उही रहेको बिडम्बना नेपाली राजनीतिको हालसम्मको कटु यथार्थ हो । नेतृत्व पटकपटक धोका र गद्दारी गर्ने नियतलाई राष्ट्रको नियति मान्नुपर्ने अवस्था कारण नेपाली जनता आजित भइसकेका छन् । जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानको सान्दर्भिकता उखान टुक्काको नामुद प्रयोक्ताकै हातमा शासनसत्ताको डाडुपन्यु हुँदा समेत समाप्त हुने छेकछन्द देखिदैन ।
केपी ओली राज्यको सम्पूर्ण शक्ति आफूमा केन्द्रित गर्ने दिशामा उन्मुख छन् । सेना परिचालनजस्तो अति संवेदनशील विषयमा समेत आफ्नो एकल निर्णय लागू हुने विधेयक संसदबाट पारित गराउने कुचेष्टा गर्दैछन् । प्रम ओली सत्तामा पुग्नासाथ आफूलाई सर्वेसर्वा ठान्ने शक्ति पिपासु र सर्वसत्तावादी अर्को जंगबहादुर बन्न खोज्दैछन् । सरकार सञ्चालनको क्रियाकलाप हेर्दा जो कोहीले अनुमान गर्न सक्दछ कि यिनलाई खासमा जनताको दुःख व्यथा, अभाव, भोक, आँसुसँग केही लिनुदिनु छैन । यिनको खुबी र हुति आफ्नो आरती उतार्ने शण्डमुण्ड र भजनमण्डलीबाट घेरिएर बेलाखबतमा उखान टुक्का र चुट्किला सुनाएर हाँसोको फोहोरा छुटाउन भन्दा माथि देखिएन । गाँस बास कपास शिक्षा र स्वास्थ्यको समस्याले छट्पटिरहेका जनतालाई पानीजहाज रेल, मनोरेल र पाइप पाइपमा ग्याँस जस्ता उट्पट्याङ आश्वासन बाँड्ने नेतृत्वको पुनरावृत्तिबाट नेपाली जनताले कहिले उन्मुक्ति पाउने हो ? यही नै अहिलेको समयको सबैभन्दा ज्वलन्त यक्ष प्रश्न हो ।
सुप्रसिद्ध नाटककार जर्ज बर्नाड शाले राजनीतिका यस्तै खलपात्रहरुलाई इंगित गर्दै एकपटक भनेका थिए– हामीले इतिहासबाट सिकेको शिक्षा के हो भने हामीले इतिहासबाट कहिले शिक्षा लिन सकेनौं । उनको उक्त कथनले नेपाली राजनीतिको कुरुपतालाई पूर्ण रुपले अभिव्यक्त गर्दछ । संविधान नबनुन्जेल संविधान बनिसकेपछि देशले विकासको रफ्तार समात्नेछ भन्ने भनियो । जेनतेन संविधान त बन्यो । बहुमतको सरकार नहुनाले राजनैतिक अस्थिरता छायो र देशले विकासको फड्को मार्न सकेन भन्ने आम मान्यतालाई केपी ओलीको दुई तिहाइले लोप्पा खुवाइदिएको छ । वास्तवमा केपी ओलीको हातमा दुई तिहाइको बहुमत बाँदरको हातमा नरिवल सिद्ध भइरहेको छ । जनताको अपार विश्वास र भरोसामाथि उनले गरिरहेको भद्दा मजाक उनकै लागि प्रत्युत्पादक हुनेछ । हरेक कुरामा चुट्किलागिरी गर्ने र जनताको समस्यालाई पनि हाँसोमा उडाउने नेताको हातमा देशको साँचो सुम्पिनुको महङ्गो मूल्य देशले भुक्तान गरिरहेको छ । तर, इतिहासको फैसला बडो निर्मम हुन्छ भन्ने सत्यमाथि आँखा चिम्लिने भूल सत्ताधारीहरुले गर्दैछन् । यो देश कसैको बपौती होइन । केपी ओलीको टोलीलाई देशलाई विधिको शासनअनुरुप सञ्चालन गर्दै सुशासनमार्फत समृद्धि ल्याउने अभिभारा जनताले दिएका हुन् । सत्तामा पुग्नासाथ उनका कुकृत्यको आलोचना गर्नेलाई समेत विरोधी र अपराधी आरोपमा बन्दी बनाउन उत्ताउलिने हो भने विनाशकाले विपरीत बुद्धि मात्रै भन्न सकिन्छ ।
नेपाली जनताले गणतन्त्रको स्थापनापछि मुलुकमा विकसति घटना परिघटना र राजनैतिक नेतृत्वबाट देखाइएको रबैयाको विश्लेषण गर्दै नयाँ शिक्षाको संश्लेषण गर्नुपर्ने अपरिहार्य छ । आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत बहुमत प्रदान गर्दा पनि त राज्यसञ्चालक जनताप्रति उत्तरदायी नहुने रहेछ भन्ने पुष्टि भएको छ । कुपात्रको हातमा परेपछि अमृत पनि विष बन्दछ भन्ने पुनः प्रमाणित भएको छ । नेपाली जनता धेरै धैर्यवान छन् । सबैलाई अवसर दिन्छन् र गल्ती सच्याउने मौका पनि प्रदान गर्दछन् तर नेतृत्वले त्यो धैर्यको पनि सीमा हुन्छ भन्ने तथ्य मनन गर्न जरुरी छ । दुई तिहाइको नाउँमा देशलाई मनपरितन्त्रको बन्धक बनाउने धृष्टता गर्ने हो भने विद्रोहको ज्वालामुखी जतिबेला पनि फुट्न सक्छ भन्ने राम्रो हेक्का प्रचण्ड र केपीलाई होस् ।