नीजि भ्रमणका क्रममा अमेरिकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई आतंककारी दर्ज गर्दै अमेरिकी संघीय जाँच व्यूरोमा गैरआवसीय एक नेपालीले उजुरी दिएको भनिएको सन्दर्भले नेपाल र नेपाल बाहिर रहेका नेपाली तरंगित छन् ।
इमेल पठाएको भनिएका व्यक्तिले सो बारेमा मुख खोलिसकेका छैनन् । उजुरी भनिएको इमेल फेक हो वा वास्तविक, यसको टुंगो पनि छैन । तर यसले नेपाली समाजलाई मज्जैले उद्धेलित गरेको छ । इमेल वास्तविकै रहेछ भने पनि यो विषय उति महत्वको थिएन जति दिइयो । एफबिआईलाई पठाइएको भनिएको इमेलको विश्लेषण गर्दा कतिपय सवालको चर्चा सान्दर्भिक देखिन्छ ।
प्रचण्डलाई अमेरिकामा पक्राउ गराउने उद्देश्य उजुरीको देखिन्छ । तर, उजुरीको व्योहोरा र नजिर हेर्दा लक्ष्य बेग्लै रहेको आँकलन गर्न सकिन्छ ।
उजुरीकर्ताले प्रचण्ड विगतमा अमेरिकाको आतंककारी सूचीमा रहेको र उनी हाल पत्नीको उपचारार्थ बाल्टीमोरमा रहेको जानकारी संघीय जाँचब्यूरोलाई दिएका छन् । प्रचण्ड विगतमा आफ्नो आतंककारी सूचीमा रहेको अमेरिकाले भुलेको होला ? वा उनी आफ्नो देशमा छन् भन्ने अमेरिकाले जानकारी नराखेको होला ? उजुरीकर्ताले उजुरीमा प्रचण्डबारे त्यस्तो कुनै तथ्य पेश गरेका छैनन् जसबारे अमेरिका अनविज्ञ होस् ।
तसर्थ उजुरीकर्ताको उजुरी अमेरिकी जाँचब्युरोका लागि खास चीज हुने देखिँदैन । एफबिआईमा इमेल गर्न अमेरिकामै बसेको हुनुपर्छ भन्ने छैन । इन्टरनेटको पहुँच भएको जुनसुकै ठाउँबाट पठाउन सकिन्छ । यी उजुरीकर्ताले पो उजुरी सार्वजनिक गरे, सार्वजनिक नभएका कति उजुरी परे होलान् ? कसलाई के थाहा ?
वास्तवमै उजुरीकर्ताले प्रचण्डलाई पक्राउ गराउन चाहेको भए पत्र सार्वजनिक गर्नुको साटो एफबिआईलाई गोप्यरुपमा थप सूचित गर्न सक्थे । उजुरी कहाँ र कसरी गर्ने हो थाहा नभएको उजुरीमै उल्लेख गरिएबाट पनि उजुरी गम्भीर हिसावले तयारीसहित लेखिएको देखिँदैन । इमेल गरेसँगै उजुरी सार्वजनिक गरिएको छ । उजुरीले केही गर्छ भन्ने लागेको भए उनले नतिजा पर्खन्थे । जे गर्छ यसले नेपाली माझ गर्छ भन्ने ठानेरै उनले उजुरी सार्वजनिक गरेको देखिन्छ । नभन्दै भयो पनि त्यस्तै । एउटा ताइ न तुइको उजुरी लेखेर विश्वभर रहेका नेपालीमाझ तुफान ल्याइदिए । ताइ न तुइ यसकारण भनिएको हो की त्यसमा प्रचण्डलाई अफ्ठारो पार्ने कुनै तथ्य समाविष्ट छैन जुन अमेरिकाका लागि खोजनीय र नयाँ होस् । उजुरी सार्वजनिक खपतका लागि थियो । चर्चा बटुल्ने सन्दर्भमा उजुरीकर्ता सफल दरिएका छन् । पूर्वमाओवादी/नेकपाका नजरमा खलनायक र माओवादी इतरका प्रचण्ड विरोधी कित्ताका लागि उजुरी कर्ता नायक दरिएका छन् । नायक खलनायक जे भए पनि उनी रातारात चर्चित भएका छन् ।
उजुरीको उद्देश्य पृथक पनि हुनसक्छ । अमेरिकी सरकारलाई सम्बोधन गर्ने क्रममा उजुरीकर्ताले हाम्रा मूल्यमान्यता भन्ने शब्द प्रयोग गरेका छन् । हाम्रा शब्दको प्रयोग हेर्दा उजुरीकर्ता अमेरिकी नागरिक भइसकेको देखिन्छ। प्रध्यापकसमेत रहेका उजुरीकर्ताले उजुरी सार्वजनिक भएसँगै चर्को आलोचना र गाली पनि बर्सिने छ भन्ने पक्कै बुझेका थिए । बुझेरै उनले उजुरी जाहेर गरी सार्वजनिक गरेका हुनसक्छन् ।
नेपाल आएको खण्डमा उनलाई टुक्राटुक्रा पार्नेसम्मका धम्की सामाजिक संजालमा छरपष्ट देखिएका छन् । सत्तारुढ दलको माथिल्लो निकायमा रहेका व्यक्तिले समेत उनको नेपाल र अमेरिकास्थित मुकाम पत्ता लगाइसकेको भनि स्टाटस लेखेका छन् । अर्को हिसावले भन्दा उजुरीकर्तालाई गुन लगाएका छन् । त्यस्ता स्टाटसको अर्थ हुनेछः उजुरीकर्ताको परिवार नेपालमा असुरक्षित छ । सत्तारुढ दलकै उच्च तहका नेताले उनको परिवार र आफन्तका लागि नेपाल बसाइ जोखिमपूर्ण छ भन्ने देखाउन मद्दत पु¥याउने छ । यस्तो अवश्थामा उनले परिवार र आफन्तको सुरक्षाका लागि अमेरिकी सरकारसँग प्रमाणसहित आवेदन दिनसक्ने छन् ।
आपत्कालिन स्थिति प्रमाणित भएमा अमेरिकाले आफ्ना नागरिकको परिवारका लागि आफ्नो देशको ढोका सदाका लागि खोलिदिनेछ । नक्कली समाचार, नक्कली चन्दा, नक्कली धम्की, नक्कली कुटपीटलाई सक्कलीरुपमा प्रस्तुत गरी सयौँले अमेरिका र यूरोपमा स्थायीबसोबास लिएको बताइन्छ । यो त सोह्रै आना सक्कलीरुपमा आएको सुरक्षा चुनौती दरिने छ । तसर्थ, उजुरीकर्ताका पोल्टामा यो पनि गज्जबको खुराक बन्ने देखिन्छ । सायद उजुरीकर्ताले खोजेकै प्रचण्ड पक्षधरको काटमारवाला गाली पो हो की !
अमेरिकामा रहँदा प्रचण्डका लागि उनकै कार्यकर्ता खतरनाक !
प्रचण्ड अनुसन्धानको दायराभन्दा बाहिरको भिषामा अमेरिकामा रहने बताइएको छ । तसर्थ उनका विरुद्धमा उजुरी दिने विरोधीबाट उनलाई खतरा छैन । उनलाई राजनीतिकरुपमा अफ्ठारो उनकै कार्यकर्ताका प्रतिक्रिया र गतिविधिले पार्ने देखिन्छ ।
देशको कार्यकारी भइसकेको र भविश्यमा हुने प्रबल सम्भावना भएको नेता हुनुका नाताले प्रचण्ड परदेशमा रहेका नेपालीका पनि अभिभावक हुन् । विदेशमा रहेका नेपालीजनसँगको भेटमा आफ्नो अभिभावकत्वप्रति विश्वास दिलाउन उनले पक्कै प्रयास गर्नेछन् । तर, उनका कार्यकर्ताले बिदेशमा रहेका नेपालीलाई सोलोडोलोरुपमै भगौडाको संज्ञा दिइरहेका छन् ।
नेकपा कार्यकर्ताको बोलीमा लगाम नलाग्दा आफ्नै पनि पराइ हुन सक्ने खतरा देखिन्छ । प्रचण्डलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुनकुमार कार्कीले समेत गुमराहामा राखेको उनीसँग सोझो सम्पर्कमा रहेका पत्रकारहरुको दाबी छ । उनले प्रचण्डलाई कालो झण्डा देखाइनसक्ने भन्दै बढी संशकित बनाएको तथा नेपाली समुदायलाई व्यक्तिगत भ्रमण भएकाले दुतावासलाई केही जानकारी नरहेको बताउने गरेको खबर छ ।
पत्नी सिताको उपचारका लागि अमेरिकामा रहे पनि प्रचण्ड पत्नीको कुरुवामा मात्र सीमित रहने छैनन् । उनले त्यहाँको सरकारी र राजनीतिक निकायसँग संवाद गर्नेछन् । अमेरिकी अधिकारीसँग उनले आफ्ना बारेमा रहेको संशय हटाउन प्रयास गर्नेछन् । शान्तिकालीन नेपालको खास नेतृत्व आफैँ रहेको प्रभाव छाड्ने प्रयास प्रचण्डबाट हुने नै छ ।
अमेरिकीहरु तथ्य र प्रमाण संग्रह गर्न माहिर मानिन्छन् । हरेक व्यक्तिको गतिविधि रेकर्ड राख्ने संयन्त्र उनीहरुसँग छ । प्रचण्डसँग भेट गर्ने प्रतिनिधिले प्रचण्ड, उनको विगत र पछिल्लो गतिविधिका बारेमा सुक्ष्म जानकारी राखेकै हुनेछन् । जानकारीमा रहेका सबै कुरा उनीहरुले व्यक्त गर्ने नगर्ने अर्कै कुरा हो । मानिहालौँः प्रचण्डसँगको भेटका क्रममा उजुरीकर्ताका सन्दर्भमा पार्टीको जिम्मेवार निकायमा रहेका व्यक्तिबाट दिइएको धम्कीमा बारेमा सोधिएमा प्रचण्डको जवाफ के हुनेछ ? मार्ने काट्ने भनि लेखिएको सन्दर्भको प्रश्नमा प्रचण्डले रक्षात्मक जवाफ दिनुको विकल्प हुनेछैन ।
प्रचण्डको अमेरिका भ्रमण र त्यसका बारेमा उठेका सन्दर्भलाई नेपालस्थित अमेरिकी दुतावासले अभिलेख राख्ने नै छ । त्यसको निचोड उसले वासिंङ्टनमा जाहेर गर्नेछ । प्रचण्डको तौल र विपी बढेको, उनका छोराले मादकपदार्थ सेवन गर्ने गरेको आदि इत्यादि झिनामसिना कुरासमेत दुताबासले वासिङटनलाई रिपोर्ट गरेको विक्किलिक्सले छरपष्ट पारिसकेकै हो । प्रचण्डको अमेरिका भ्रमण त्यस्तो उजुरीमा केन्द्रीत भएको देख्दा अमेरिकी दुतावासलाई उदेक लाग्दो हो, जुन उजुरी बारे अमेरिका स्वंयम वेमतलवी छ । तर, उही उजुरीलाई लिएर नेपाल र नेपालीमाझ तुफान आइरहेछ ।
विषयवस्तुको बहुआयामका बारेमा अध्ययन गर्ने र गहिराइमा पुग्ने, त्यसको प्रभावका बारेमा चिन्तन गर्नेभन्दा ओठेजवाफमा मस्त रहने एकथरी नेकपा प्रवृत्तिले प्रचण्डको अन्तराष्ट्रिय छबीमा आँच पु¥याउने देखिन्छ ।
मोदीप्रति उदार हुने अमेरिका प्रचण्डप्रति किन हुन्थ्यो अनुदार !
आफ्नो सुरक्षासँग सम्बन्धित सवालमा बाहेक अमेरिकाको नीति परिस्थितिअनुसार फेरबदल भइरहन्छ । मानवअधिकार, लोकतन्त्र आदि इत्यादि सवालमा अमेरिकाको हेराइ सन्दर्भअनुसार फरक फरक रहँदैआएको छ । प्रसंग शुरु गरौँ–मोदीबाट । गुजरातको मुख्यमन्त्री रहेका नरेन्द्र मोदीलाई अमेरिकाले भिषा दिएन । मोदी नरसंहारका लागि दोषि रहेको अमेरिकाको ठम्माइ थियो । जब उनी प्रधानमन्त्री निर्वाचित भए अमेरिकाले उनलाई भव्य स्वागत ग¥यो । संसदमा सम्बोधन गरायो । पूरै संसद मोदीको सम्मानमा पटक पटक जुरुक्कै उठ्यो । त्यहाँ कहाँ नरसंहारी मोदी देखियो र ? शक्तिशाली भारतीय प्रधानमन्त्री मात्र देखियो ।
एउटै धर्म उस्तै शासन व्यवस्था भएका देशहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण फरक छ । साउदी अरब प्रिय छ भने त्यही नजिकैका अन्य इस्लाम मुलुकका सन्दर्भमा अमेरिकी धारणा पृथक छ । अमेरिकामा स्थायी बसोबास गर्दै आएका पत्रकारको हत्या गरेको आरोप लागेका साउदी राजकुमारका बारेमा अमेरिकी राष्ट्रपति नरम सुनिए । हत्या प्रकरणपछि साउदीसँगको अमेरिकीसम्बन्ध कस्तो हुनेछ भन्ने प्रश्नको जवाफमा राष्ट्रपति ट्रम्पले प्रष्टै भनिदिए–साउदी अरवसँग अमेरिकाको साझेदारी व्यापक छ, केही फरक पर्ने छैन ।
फरक प्रचण्डका सन्दर्भमा पनि परेन । भेनेजुयलाको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर मुदुरोका पक्षमा र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ती जारी गरेको धेरै भएको छैन । धेरैलाई लागेको थियोः अब के के हुने हो ? तर ठीक उल्टो भइदियो । प्रचण्ड अमेरिकाको अमेरिकाको अनुसन्धानरहित पाहुना बने, नेकपाजनकै शब्दमा भन्दा मोदी र सोनियाजस्तै । पत्नीको उपचार अमेरिकामा हुँदैछ । प्रचण्डलाई राम्रै सोफामा राखेर अमेरिकाले मज्जैको तोफा दिनसक्नेछ । राजनीतिमा अनौठो के र ! त्यसैले उजुरबाजुर गर्नेहरु गरिरहुन्, अमेरिकी साम्राज्यवाद भन्नेहरु भनिरहुन् ।