पहिलो खण्ड
संसारमा मानव इतिहासको करिब १० हजार वर्षदेखि ५ हजार वर्ष अघिसम्मको समयमा धर्म वा संस्कृतिको विकास शुरु भयो । मानव जातिको विकास र जीवनशैली परिवर्तनसँगै प्रकृतिसँगको सम्बन्ध र अन्तरविरोधहरु पनि परिवर्तन हुँदै गएको छ र सोही क्रममा मानिसको प्रकृतिसँग ठुलै अन्तरविरोध भयो । जस्तै: आगोबाट मानिसले न्यानो प्राप्त गर्यो, आफ्नो खाना पकाउन सामर्थ्यवान भयो तर त्यही आगोको चपेटामा परेर धेरैले डढेर ज्यान गुमाउन पुगे ।
मानिसलाई पानी र हावा नभै हुँदैन । प्राण नै मुख्यत: पानी र हावामा अडेको हुन्छ तर त्यही हावा, पानी नै मानिस र अन्य जनावरहरुको मृत्युको कारण बनेको पनि हुन्छ। यही प्रकृतिसँगको सम्बन्ध, अन्तरसंघर्ष र अन्तरघुलनकै सन्दर्भमा अनेकन धारणाहरु बने र आराधना/अनुष्टानहरुको विकास भयो र त्यसका निम्ति मन्त्रहरुको रचना गरिए। यही क्रमानुसार धर्ममतहरुको विकास भएको हाे। मानव समुदाय भित्रका धेरै धर्ममत मध्ये केही मुख्य धर्ममतहरु:
१) आर्य सप्रदायको प्रकृतिपुजक धर्म:- हाम्रो शरीरको संरचना पन्च महाभूत तत्व (पृथ्वी, अग्नि, वायु, आकाश, जल) बाट भएको हुँदा यसैको आरधना गर्नुपर्छ र यसैबाट सम्पूर्ण चराचरको सृष्टि भएको र मृत्यु पछीपनी यसैमा बिलिन हुने हो,अनि आत्मा मात्र अमर हुन्छ भन्ने नै यस्को मुल धारणा हो।यज्ञ /होमलाई अनुष्ठानको प्रमुख बिधिको रुपमा स्विकार गरिएको छ। अहिले यो धर्मलाई हिन्दु भनेर चिनिए पनि वास्तवमा हिन्दु भन्ने कुनै धर्म छैन।
सिन्धुघाँटीको सभ्यताको क्रममा उनीहरुलाई सिन्धु भनेर सम्बोधन गर्दा अपभ्रंम्स भएर हिन्दु भएको हो भनिन्छ । यस धर्ममा मोहन जेड्दाडो र हडप्पा सभ्यताका संस्कृतिहरु पनि मिश्रण भएका छन। यसकारण हिन्दु धर्म होइन, राष्ट्रियता हो र पछि गएर यसको सांस्कृतिक रुपान्तरण भयो। अहिले आफुलाई हिन्दु भनेर गर्व गर्ने धेरैले यो बुझेका छैनन होला। यो मतको पवर्तक को हो भन्ने कुरा इतिहास, संस्कृतिका ब्याख्याताहरुले ठोकेर भन्न सकेका छैनन । हिन्दु संस्कृतिले परिभाषित गरेका देवीदेवताहरु पनि यो मतका अनुयायी हुन, पवर्तक होइनन्।
अहिलेको हिन्दु धर्म शुद्ध प्रकृतिपुजक धर्म होइन, यसमा अनेकन देवीदेवताबाद, अनुष्ठान, तन्त्रहरुको पनि प्रवेश भएको छ र बलीपुजा पनि गरिन्छ। शुरुमा यो समाजमा वर्ण व्यवस्था (जातपात) थिएन, गोत्रीय ब्यवस्था द्वारा विवाह वा अरु सामाजिक चलनहरु निर्देशित हुन्थे। सिन्धघाँटीबाट हिमवत क्षेत्रमा (हिमालयदेखि दक्षिणको समथल मैदान हुँदै हिन्द महासागरसम्म) प्रवेश भएपछि वर्ण ब्यवस्था र ३३ कोटी समेत अनेकन देवीदेउतावादको विकास भएको हो।
२) मुर्तीपुजक मिश्री धर्म:- यो विशेषगरी मिश्री (ईजिप्टसियन) हरुको धर्ममत हो। उनीहरुले शक्तिको श्रोतको रुपमा सुर्य, ग्रहहरु (जुपिटर लगायत), अनेकन शक्तिशाली देबीदेउताहरु निर्माण गरी उनीहरुको मुर्ती स्थापना गरी आरधाना गर्ने, बली दिने र तन्त्रमन्त्र सहित भयंकर किसिमको आरधाना गर्ने गरेको पाइन्छ । उनीहरु जुपिटर, एपोलो, भेनस (देवी) र जनावरमा बिरालो, मयुर, भेडो, गाई, गिद्द आदिको पुजा/अनुष्टान गर्थे। अहिलेको हिन्दु धर्ममा पनि यो प्रथा वा विश्वासको जबर्जस्त प्रभाब पाइन्छ । पुरै युरोप, उत्तर-दक्षिण अमेरिकामा (पुरानो रोम, युनानी र ईन्का सभ्याता) समेत पुरानो मिश्री धर्मको प्रभाव थियो।
३) मुसाको यहोवा मत (यहुदी धर्म) – यो धर्मले माथि उल्लेखित दुबै मतहरु मान्दैन । यो मुर्तीपुजाको घनघोर बिरोधी मत हो।मुख्यत ईश्वरको आदेशको रुपमा मोसालाई प्राप्त १० आज्ञाहरु नै यो धर्मको मार्ग निर्देशनहरु हुन । १० आज्ञाहरुमा मुख्यत- चोरी नगर्नु, छिमेकीको धन-सम्पत्ती/स्त्री आदिमा कुदृष्टी नलगाउनु आदि जस्ता नैतिक निर्देशनहरुलाई समाबिष्ट गरिएको छ।
यहुदीहरु वा मोसाका अनुयायीहरु पनि परमेश्वरको नाममा पशुवली (थुमा, बाच्छा) दिनेकुरो बाइबलको ओल्ड टेस्टामनमा बताइएको छ।बली दिनको निम्ति उनीहरु विशेषत पहाडका टाकुराहरुमा जाने गर्दथ्ये । यस धर्ममतको विकास हुनु वा मोसाको समय भन्दा अगाडिका पुर्खाहरुमा संरक्षक देवताहरु र मरेको पुर्वजहरुको अनुष्ठान रहेको चलन थियो तर मोसालाई प्राप्त १० आज्ञाहरु पश्चात् उनीहरुको विश्वासमा अकल्पनीय परिवर्तन भएको थियो । अनि यहुदीहरु विशेष गोत्र ब्यवस्था नै मान्थे ।
यी वाहेक मेसोमेटामिया, पूर्वी एसिया (चीन, जापान, कोरिया), आदि स्थानमा विकास भएका धार्मिक मतहरुमा पजय होस्। जधौनी पित्रीहरुको अनुष्ठान, तन्त्र विद्या, ज्योतिष आदिको विकास भएको पाइयता पनि माथि उल्लेखित ३ वटा धार्मिक मतहरुको समिश्रण सहित क्षेत्रीय विशेषता सहित आ-आफ्नो धर्म र संस्कृतिको विकास गरेका थिए। चीनमा आकाशलाई र जापानमा सुर्यलाई सर्व शक्तिमान मान्ने धार्मिक चलन थियो । समस्तमा धर्ममत भन्नाले त्यो समयको राजनैतिक, आर्थिक, उत्पादन प्रणाली, राज्यको कानुन, स्थानीय जीवनशैलीको ऐतिहासिक दर्पणको रुपमा लिन सकिन्छ । यसकाे सूक्ष्म अध्ययनले मानव समुदायको विकासक्रम बुझ्न सहयोगी हुन्छ।
दोस्रो खण्ड
मैले प्रहिलो खण्डमा कृष्ण, बुद्ध, क्राइष्ट र मुहम्मदभन्दा अगाडिको मानव धर्ममत र सस्कृतिबारे ज्यादै छोटकरीमा विषय राखे । अब यस खण्डमा त्यसपछिको विकासक्रमलाई छोटकरीमा राख्नेछु । हिमालयदेखि दक्षिणको क्षेत्र समेतमा आर्यनहरु प्रवेश गर्नु अगाडि नै इरानी देवता खलक आहुरहरु हालको मुम्बई भन्दा दक्षिणी क्षेत्र हालको श्रीलंकासम्मको क्षेत्रमा फैलिएका थिए । हालको नेपाल /तिब्बत क्षेत्रका गणनायक शिव (रुद्र, महादेब) सँग आहुरहरुको राम्रो सम्बन्ध थियो तर आहुर र आर्यजरुको कहिल्यै राम्रो सम्बन्ध भएन ।
आर्यहरुका नायक बिष्णु र ईन्द्रसँग उनीहरुको लडाइँझगडा परिनै रहन्थ्यो । यिनै आहुरहरुलाई असुर (राक्षस) र बिष्णु र ईद्र पक्षलाई देव (देवता) भनिएको हो । बिष्णुलोक वा ईद्रलोक भन्ने कुनै छुट्टै आकाशीय पिण्ड होइनन, यही हिमालयदेखि हिन्द महासागरसम्मको पृथ्बीकै अंश हो । यस क्षेत्रमा सर्बाधिक शक्तिशाली चाहिँ रुद्र नै हुन, देवता र असुर दुबैले उनको आराधना गरेका छन् । मानव सभ्यताको शुरूवात, राज्यहरुको निर्माण /बिघटन तथा मानव समुदायहरु फिरन्ते जस्तै पृथ्वीमा विचरण गर्दा जाँदा अनेकन धर्म/संस्कृतिको विकास हुँदै गयो। धर्ममतहरुको पछिल्लो विकासक्रममा विभिन्न महा-पुरुषहरुको योगदान रहँदै आएको छ ।
केही मुख्य पात्रहरुको छोटकरीमा चर्चा गर्नेछु । मानव सभ्यताको ४ हजार वर्षयता कृष्ण, कन्फ्युसियस, शाक्यमुनी बुद्ध, जिसस क्राइष्ट, पैगम्बर मुहम्मद, महाबिर, गुरु नानक ईत्यादिहरु धर्म नायकका रुपमा देखा परे । यी उल्लेखित पुरुषहरुले धर्म स्थापना गरे वा तत्कालको समयमा सापेक्ष रुपमा समाजलाई मार्ग निर्देशन गरे, यो विषयमा ठूलै बहस हुन सक्छ । पूर्बीय प्राचीन दर्शनमा कृष्णलाई प्रेम, मानव-कल्याण र आवश्यक पर्दा हिंसाको भरमार प्रयोग गर्ने एक ऐतिहासिक पात्रको रुपमा चित्रित गरिन्छ । उनले भिन्दै धर्म सिकाएनन, बरु तत्कालीन समाजलाई एउटा मार्ग दिए । बुद्ध स्वयं एक अनिश्वरवादी सन्त थिए । जीवनमा दु:खको कारण तृष्णा हो र तृष्णाको उन्मुक्ति नै मुक्तिको बाटो देखाउने बुद्ध मुर्तीपुजाका पनि बिरोधी थिए।
आज विश्वमा सबैभन्दा बढी बुद्धका मुर्तीहरु बनाइएका छन, पुजाका अनेकन तरिकाहरु विकास गरिएको छ। आजभन्दा २००० वर्ष अगाडि हालको प्यालेस्टाइनमा जिसस क्राइष्टको जन्म भयो । उहाँ पनि एक म सन्त हुनुहुन्थ्यो र संसारलाई क्षमा र प्रेमको मार्ग सिकाउनु भयो । तत्कालीन शासकहरुले उहाँलाई क्रुसमा झुन्ड्याएर मृत्युदण्ड दिए । किनकि उहाँले तत्कालीन राज्यको बिरोध गर्नुभयो । हो, क्राइष्टले आफैलाई परमेश्वरको पुत्र दावी गर्नुभयाे र मानिसको पाप क्षमाको निम्ति क्रुसमा टागिने विषय प्रचार गर्नुभयाे ।
उहाँले पनि तत्कालीन मानव समुदायलाई जिउने एक मार्ग प्रस्तुत गर्नुभएको छ ।आजकल पश्चिमी साम्राज्यवादीहरुले अविकसित राष्ट्रहरुमा क्राइष्टको नाममा उनीहरुको राजनैतिक र व्यापारिक नीतिहरु लागु गरिरहेका छन् । जुन क्राइष्टको शिक्षा र मार्ग विरुद्ध छ ।
मित्रहरू मैले के भन्न खोजिरहेको छु भने: माथि उल्लेखित कुनै पनि महा-पुरुषहरुले मानव समुदायलाई कुनै नयाँ धर्म दिएका होइनन, कुनै नयाँ धर्म स्थापना पनि गरेका होइनन, केवल समाजलाई तत्कालीन समयको समाजको आवश्यकता, चेतनास्तर अनुसार जीवन मार्ग मात्र देखाएका हुन । उक्त मार्ग स्वीकार र अस्वीकार गर्ने ब्यक्तिको निजी अधिकार हो । मेरो यो भनाईमा प्रशस्त असहमती र विरोध पनि हुन्सक्छ तर यसमा सहमत हुनेहरुको संख्या बढ्दै जानेछ ।
अहिले संसारमा चलेका हरेक धर्मका हुरीबतासले मान्छेहरुलाई अन्धविश्वासी र डरपोक बनाएको छ। अनि प्राचीन महा-पुरुषहरुले देखाएको असली शिक्षा र मार्गलाई छोपेको छ । अहिलेको समयका केही नयाँ शिक्षाहरु जस्तै रजनिश, विभिन्न योग गुरुहरुले पनि पुराना मान्यता र शिक्षाहरुलाई आधार मानी केही नयाँ सिद्धान्तहरु विकास गरेर मार्ग देखाएका हुन, कुनै नयाँ धर्मको पादुर्भाव गरेका होइनन ।
अन्त्यमा म १९ औ शताब्दीमा जन्मेका एक मार्ग निर्देशक गुरुको प्रसङ्ग सहित लेखको बिट मार्न चाहन्छु । काल मार्क्र्सले मानव इतिहासको ऐतिहासिक भौतिकवादी व्याख्या गर्नुभयो। सन १८४८ मा कम्युनिस्ट घोषणापत्र मार्फत विश्वका उत्पीडित, श्रमजीवी समुदायलाई राज्यशक्ति प्राप्त गर्न सक्ने वैचारिक हतियार दिनुभयो । शोषण रहित समाज व्यवस्था (साम्यवाद) तिर जाने बाटो देखाउनु भयो । तर, आजकल विश्वमा उहाँको फोटो र शालिकहरु बनाउने होड नै चलेको छ। अन्तर्राष्ट्रिय गीत गाउने, फोटो र सालिकलाई माल्यार्पण/सलामी आदि गरिन्छ।
सिद्धान्तको विकासभन्दा भ्रष्टीकरण गरिएको छ र कम्युनिस्टको नाममा दलाल र पुँजीपती वर्गकै हलिमुहाली छ। तैपनि मार्क्र्सको जयजयकार रोकिएको छैन। मलाई डर लाग्छ आगामी १००-२०० वर्ष भित्र यो पनि एउटा धर्म नै हुन्छ कि ? हिन्दु, बौद्ध, ईसाई भने जस्तै ‘सनातन कम्युनिस्ट धर्म/धर्मावलम्बी’ भन्ने दिन नआओस, यत्ती मात्र भन्न चाहे।
(यो लेखमा अभिब्यक्त विचार नितान्त मेरो निजी विचार हुन । यो कही गएर सिद्ध भएको दस्तावेज पनि होइन । यहाँ उल्लेख गरिएका बाक्यांसहरु निकै छोटकरीमा लेखिएका छन । लेखमा मैले केही निष्कर्ष दिएको छैन तर एउटा मान्यतालाई अङ्गिकार गरेर जीवन व्यतित गरिरहेका मान्छेहरुका बीचमा कन्फ्युजन सृजना गर्ने कोशिस गरेको छु । किनभने म मान्दछु कि–कन्फ्युजनले कि मान्छे कृयसनतिर जान्छ, त्यता जान सकेन भने करप्सनतिर जानुपर्ने हुन्छ, कृयसनतिरै जाउन, शुभकामना छ । यो लेख तयार गर्न थुप्रै पुस्तकको अध्ययन साथै आफुले अहिलेसम्म अनुभूत गरेको भावनालाई अक्षरमा बदल्न अलि कठिनाइ नै महशुस गरेको छु।)