राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्यष्टी

पोखरा । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो ।

पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए ।

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ । पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवारका तर्फबाट अधिकारीका बाल्यकालका साथी धनराज आचार्यले बताए ।

पोखरा प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट बोल्दै आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका हुन् । मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए ।

त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उनले श्रद्धाञ्जली सभामा जानकारी दिए । उनका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई शुक्रबार नै काठमाडौंको टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली दिएइको थियो। त्रिवि शिक्षण अस्पतालबाट शव ल्याइएपछि सुरू भएको श्रद्धाञ्जलीको कार्यक्रम बिहान ११ बजेसम्म थियो।

श्रद्धाञ्जली दिन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा झण्डा ओढाएर सम्मान गरेका थिए।

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाए।

दिवङ्गत मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे।

दुर्घटनामा निधन भएका सबैको शव हिजो अपराह्न काठमाडौं ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो। शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको थियो। शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो।

श्रद्धाञ्जली कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि कास्कीको पोखरा लगिएको थियो भने अन्य व्यक्तिको पार्थिव शरीर आफन्तको जिम्मा लगाइएको थियो।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

Loading...