नख्खु बम विष्फोटमा पक्राउ परेका एनसेलका गार्डले दिए यस्तो अनौठो बयान

काठमाडौं । नख्‍खुमा रहेको नीजि क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल टावरको मुख्यालयमा भएको बम विस्फोटको अनुसन्धानका लागि पक्राउ परेका सुरक्षा गार्डले प्रहरीलाई चकित पर्ने अनौठो बयान गरेका छन् ।

घटनाका प्रत्यक्षदर्शीजस्तै बनेका उनीहरुले आफूहरूले ‘बम हो भनेर नचिन्दा विस्फोट भएको’ प्रहरीलाई बयान दिएका छन्। ‘कुकर जस्तो वस्तु एनसेलको अफिसको मूलढोकामै थियो। त्यो कुरा हामीभन्दा माथिका हाकिमले थाहा पायो भने जागिर जान्छ भनेर बाहिरको गेटमा पुगाएका हौँ, तर बम रहेछ विस्फोट भयो,’ पक्राउ परेका गार्डले प्रहरी बयानमा भनेका छन्।

शुक्रबार बेलुका भएको बम विस्फोटमा टावरको सुरक्षाका लागि खटिएका सुरक्षा गार्ड नै शंकाको घेरमा परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्‍धान गरिरहेको छ। एनसेल टावरको सिसिटिभी फुटेज हेरेका प्रहरी अधिकारीका अनुसार बम विस्फोट हुनुभन्दा केही समयअघि एनसेल टावर अगाडिको गेटमा तीन मोटरसाइकलमा केही मानिस आएको देखिएको छ।

‘उनीहरूले गार्डहरूसँग केही कुरा गरेको पनि देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने,’ त्यसको एकछिनपछि सुरक्षा गार्ड भित्र गएर बम ल्याएर गेटतिर लाँदै गरेको देखिन्छ।’ त्यसको केही समयलगत्तै बम विस्फोट भएको थियो। विस्फोट भएको प्रेसर कुकर बम भएको प्रहरी अनुसन्धानमा देखिएको छ।

प्रहरीका अनुसार दुवै सुरक्षा गार्ड यसअघि सेनाका जमदार हुन्। नेकपाले उनीहरूलाई प्रयोग गरेको आशंका प्रहरीको छ। तर, उनीहरूले त्यो कुरा अस्वीकार गरेका छन्।

यस्तै बम विस्फोटमा संलग्न आरोपमा पक्राउ परेकामध्ये ३ जना नेकपाका कार्यकर्ता भएको पुष्टि भएको छ । उनीहरुविरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतबाट तीन दिन म्याद थप गराएको छ । प्रहरीका अनुसार कालिकोटको रासकोट नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२३, धापाखेलमा बस्ने २० वर्षीय मानबहादुर तिरुवासहित ललितपुरका दुई स्थानीय युवा रहेको बुझिएको छ ।

अभियुक्तहरूको बयान, कल डिटेल र अन्य विवरण संकलन जारी राखेर घटनाको गम्भीर ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार राति साढे ८ बजेतिर एनसेल मुख्यालयमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएका थिए । घाइतेमध्ये लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको उपचार मृत्यु भएको भइसकेको छ ।

विस्फोटमा परी घाइते ललितपुर बागडोलकी २६ वर्षीया प्रतिक्षा खड्का र काभ्रेकी २५ वर्षीया उरूषा मानन्धरको उपचार चलिरहेको छ । विस्फोटको जिम्मा नेकपाले लिइसकेको छ ।

घटनाको जिम्मा लिँदै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले एनसेलले कर नतिरेको कारण आफूहरुले कारवाही गरेको बताएका छन् । उनले आइतबार बीबीसीसँग कुरा गर्दै शुक्रबार एनसेलको मुख्यालयदेखि देशभर भएका घटना पार्टीले गरेको भन्दै जिम्मा लिएका हुन् ।

पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज समेत रहेका ओलीले सरकारले एनसेलमाथिको कारवाहीलाई लिएर सरकारले आफ्नो पार्टीमाथि दमन गरे प्रतिरोध गर्ने चेतावनी दिए । “सरकारले न्यायपूर्ण कार्यलाई अन्ययपूर्ण सरकार आउने थाल्यो भने नेपाली जनताले नराम्रोसँग प्रतिरोध गर्नेछन्, त्यसको साथसाथै नयाँ राज्यसत्ता स्थापति गर्नेछन्” ओलीले कुराकानीको क्रममा भने । उनले सरकारका कुनै पनि निकायहरुले एनसेललाई कर नतिराएकोले आफूहरुले कारवाही गर्न बाध्य भएको बताए ।

आफ्नो कारवाही कुनै व्यक्ति वा सर्वसाधारणविरुद्ध नभएको भन्दै ओलीले नख्खु विस्फोटमा परी ज्यान जानु दुःखद् भएको बताए । उनले मुख्य काम गर्ने बेला त्रृटि भएको भन्दै मृतकका परिवारलाई पार्टीले राहतको व्यवस्था गर्ने समेत बताए ।

एक अर्को प्रसंगमा क्रान्तिको क्रममा निर्दोषको ज्यान जाने गरी हुने घटनाप्रति आफूहरु पूर्णरुपमा रुपमा सचेत हुने भन्दै ओलीले भने, “जनयुद्धको क्रममा अनहाकमा प्रचण्ड, बाबुराम र बादलहरुले १७ हजार मानिसहरुको ज्यान लिएका छन्, उनीहरुलाई कारवाही हुनुपर्छ ।”

वार्ताको माध्यबाट समस्या समाधान नहुने संकेत नदेखेपछि आफूहरु अगाडि बढेको ओलीले बताए । उनले सरकार वार्ता गर्ने पक्षमा नरहेको समेत आरोप लगाए । जनयुद्धको क्रममा कब्जा गरेको ८० प्रतिशत भूभाग यथावत र ४० हजार जनमुक्ति सेनाको पुर्नगठन गरे आफ्नो पार्टी वार्ताको लागि तयार रहेको ओलीले बताए ।

शुक्रबार नेकपाले कर छली गरेको भन्दै एनसेलको मुख्यालयदेखि देशभरका टावरमाथि बम विस्फोट तथा आगजनी गरेको छ । बीबीसी र हेमन्तप्रकाशवीचको कुराकानी जस्ताको त्यस्तै-

बीबीसी- एउटा बटुवा बाटो हिँडिराख्दा, घर जान लागेको मान्छे, घर पुगेन, ज्यान गुमायो अनाहकमा । यसलाई सानोतिनो घटना भन्न मिल्छ ?

हेमन्तप्रकाश हैन, हामीले त्यस्तो भनेकै छैनौं ।

बीबीसी- अहिले भर्खर तपाईले सानोतिनो घटना हुन जान्छ भन्नुभयो ।

हेमन्तप्रकाश- यस्तोचाहिँ घटनाहरु हुन सक्छन्, हैन ? तर, चाहिँ हामीले यो कुनै निशाना हैन । जुन, बटुवा, जो मानिसचाहिँ त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।

बीबीसी- यसरी दुःख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्तजी ?

हेमन्तप्रकाश– त्यसो त तपाईको चाहिँ सिरियाका लाखौं जनताको त ज्यान र्फकँदैन नि ।

बीबीसी- हेमन्तजी, तपाईकै शब्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ । यहाँभित्र दबाव दिने अथवा त्यसरी बम बिस्फोट गराएर अनि त्यो के फर्किन्छ ? त्यसरी तपाईले भनेको उद्देश्य या ध्येय प्राप्त हुन्छ ?

हेमन्तप्रकाश- तपाईले के बुझ्नोस् भने न्याय पालिका अथवा सरकारका कुनै पनि निकायले त्यसप्रति ध्यानै दिएनन् । स्वयं न्यायालय नै त्यसबाट प्रभावित हुने….

बीबीसी- यहीँनेर रोक्न खोजें हेमन्तजी, त्यसो भए एउटा पार्टी नै राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ ?

हेमन्तप्रकाश- हैन, यो राज्य अन्यायपूर्ण छ भनेर हामीले त्यसका विरुद्ध वैकल्पिक र प्यारालाल राज्यकै घोषणा गरिसकेका छौं ।

बीबीसी- सरकारले तपाईहरुले भनेकै शब्लमा यो वैकल्पिक राज्यले अनाहकमा ज्यान लियो नागरिकको, ठाउँठाउँमा विस्फोट गरायो, यसको चाहिँ कडाभन्दा कडा कारवाही गर्छौं भनेर भनेको छ राज्यले । अब त्यो कारवाहीका लागि तयार हुनुहुन्छ तपाईहरु ?

हेमन्तप्रकाश- यसरी सरकारले चाहिँ फेरि न्यायपूर्ण कार्यलाई अन्यायपूर्ण तरिकाले चाहिँ आउन थाल्यो भने नेपाली जनताले चाहिँ नराम्रोसित प्रतिरोध गर्नेछन् । यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पूर्णरुपमा स्थापित गर्नेछन् ।

बीबीसी- तपाईले कुन नेपाली जनताको कुरा गर्नुभयो ? त्यो विस्फोटको सर्वत्र निन्दा र भत्सर्ना हुँदैछ, ती चत्सर्ना गर्ने नेपाली जनता हैनन् ?

हेमन्तप्रकाश- हैन, हामीले त भनिसक्यौं त, हामीले मुख्य काम जे गर्न खोजेका थियौं, त्यसमा चाहिँ केही त्रुटीहरु हुन गए । ती जुन नेपालीले ज्यान गुमाए, त्यसप्रति चाहिँ दुख प्रकट गर्दै उहाँको परिवारको राहतका लागि हामी आफ्नो तर्फबाट कदम अगाडि बढाउने छौं ।

बीबीसी- अब अन्त्यमा हेमन्तजी, तपाईहरुले भन्ने गरेको यो क्रान्तिका लागि अझ कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ ? र, जसको बलिदानीको उपलब्धीमा टेकेर तपाईहरुले राजनीतिक स्वार्थ पूरा गर्नुहुन्छ…

हेमन्तप्रकाश- हैन, योचाहिँ कुरा हामीले आज प्रचण्ड र बाबुरामहरुलाई पनि सोध्नुपर्छ । बादलहरुलाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले चाहिँ अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्, तिनीहरुलाई सजायँ हुनुपर्छ । र, हामीचाहिँ यस्ता कमी कमजोरीहरु हुन नदिनका लागि पूर्णरुपले सचेत हुनेछौं ।

बीबीसी- तपाईहरुले वार्ताको कुरा पनि गर्नुभएको छ, यो वार्ता चाहिँ सरकारलाई अल्झाउने खेल त होइन नि ।

हेमन्तप्रकाश- हामीले वार्ताको कुरा गरेका हैनौं, उनीहरुले गरेको वार्ताको कुराको जवाफ कहिलेकाहिँ दिने गरेका छौं ।

बीबीसी- तपाईहरु शान्तिपूर्ण तरिकाले समस्याको समाधान होस् तपाईहरुका माग सम्वोधन होस् भन्ने पक्षमा हुनुहुन्न ?

हेमन्तप्रकाश- हैन, हामी समस्याको समाधान होस् भनेर पर्खिराखेका छौं । तर, पनि कुनै समस्याको समाधान हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।

बीबीसी- ए, त्यो पर्खिँदै गर्दा यता विस्फोट पनि गराइहाल्नुभो, वार्ताबाट निकास निस्कोस् भन्ने त्यतिसम्म कुर्न सक्नुभएन ।

हेमन्तप्रकाश- हैन, वार्ता गर्नै चाहँदैन सरकारचाहिँ । वार्ताको कुनै विषयवस्तु नै क्लियर छैन । अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाका विरुद्ध बन्दूक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन् । त्यस्तै किसिमले हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।

बीबीसी- विगतको नेतृत्वले गल्ती गर्‍यो भनेर आफैंले भन्नुभयो । र विगतको नेतृत्वले जुन काम गर्‍यो, जुन बाटोमा हिँड्यो, त्यही बाटो तपाईहरु अपनाउँदै हुनुहुन्छ, तीभन्दा तपाईहरु कसरी फरक हुनुभयो ?

हेमन्तप्रकाश- जुन बाटोमा हामी अघि बढिराखेका थियौं, आमूल परिवर्तनको बाटोमा, क्रान्तिको बाटोमा, वर्ग संघर्ष छाडेर वर्ग समन्वयनतिर लाग्यो र प्रतिक्रियावादीहरुसित साँठगाँठ गरेर चाहिँ सत्तामा पुगेको छ ।

बीबीसी- कतिपयले त के भन्ने गरेका छन् भने तपाईहरुले केही चन्दा माग्नुहुन्छ, मोटो रकम माग्नुहुन्छ, त्यो रकम नपाएपछि तपाईहरुले बिस्फोट गराउने गर्नुहुन्छ । तपाईहरुको यो कुनचाहिँ वाद हो ?

हेमन्तप्रकाश- अब हामीले के बुझौं भन्दाखेरि योचाहिँ भ्रमतिर कोही पनि लाग्न हुँदैन कि हामी कसैबाट मोटो रकम लिनका लागि यस्तोखालको क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिराखेका छौं । योचाहिँ असाध्यै भ्रमपूर्ण कुरा हो ।

Loading...