एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले अखबारबाट थाहा पाउछन् कि चौध वटा भाषा बोल्न सक्ने चरा किन्न पाइन्छ । तर मूल्य भने एक लाख डलर । उनी धनी थिए यसर्थ उनले त्यस अजीव चरालाई अफ्रिकाको कोशेली स्वरूप किनेर पार्सल गरी घर पठाइदिए ।
काम सकिएर घर पुग्नासाथ उनले श्रीमतीलाई सोध्छन्, ‘मैले अफ्रिकाबाट पठाएको त्यो दुर्लभ चरा खोइ, हँ ?’
श्रीमतीले मस्कदै भन्छिन्, ‘ई, हजुरकै लागि आज त्यसैको तरकारी बनाएकी छु मैले ।’
श्रीमतीको जवाफ सुनेर छाँगोबाट खसेझै भएका व्यापारी झोक्किन्छन् ‘धत्तेरी तैले सत्यानाश पारिस् । चौध वटा भाषा खर्रर्र जान्ने त्यो चरालाई मैले एक लाख डलर हालेको थिए, बुझिस् ।’
श्रीमतीले तत्काल प्रतिकृया दिन्छिन् ‘खोइ त मैले काट्न खोज्दा उसले त एउटै भाषा बोलेन ।’
चौध-चौध भाषा बोल्न सिकेर के काम यदि आवश्यक ठाउमा प्रयोग गरिएन भने, बोले पो एकलाखको चरो नत्र दश रूप्पेको बिचरो ! आफूसँग भएको प्रतिभालाई मौकामा प्रयोग गरिएन भने त्यसको कुनै मूल्य नै रहदैन् । कि कसो ?