यसपालि गणतन्त्र दिवसमा प्रधानमन्त्री नबोल्ने, राष्ट्रपति बोल्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् ।

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।

तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको स्रोतले बतायो ।

मन्त्रिपरिषद निर्णय र प्रधानमन्त्री शाहको अनुरोध पत्र बुझाउन मुख्य सचिव सुमनराज अर्याल आइतबार राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। 

गणतन्त्र दिवसमा अबदेखि प्रधानमन्त्री नबोल्नेभन्दा पनि राष्ट्रपति बोल्ने भन्ने रूपमा यो निर्णयलाई लिनुपर्ने राष्ट्रपति कार्यालय स्रोतको भनाइ छ।नेपाल २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो।

त्यसयता वर्षेनी जेठ १५ मा गणतन्त्र दिवसमा टुँडिखेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेका थिए। २०८२ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए। २०८१  र २०८० को गणतन्त्र दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, २०७९ को गणतन्त्र दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवा, २०७८ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेका थिए।

गणतन्त्र दिवसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधान न्यायाधीश, उपसभामुखलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुने गरेका छन्।