सिरहा, २ फागुन । कृषि र पशुपालनलाई मुख्य पेसा बनाइ जीविका चलाउँदै आएका जिल्लाका युवा समुदायमा पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढेपनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन ।
थोरै जग्गा भएका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि केही वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक मलेसिया, दुबई, कतार, साउदी जाने क्रममा तीव्रता आएको छ । कृषि व्यवसायबाट छ महीनामात्र खान पुग्ने भएकाले यहाँका पासवान समुदायका विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दै आएका थिए ।
परिवर्तित समयअनुसार वैदेशिक रोजगारीबाट आफ्नो आर्थिक अवस्था सुदृढ हुने आशामा बैंकमा जग्गा धितो राखेर वा दृष्टिबन्धकी गरेर रकमको व्यवस्था मिलाउँदै वैदेशिक रोजगारीमा जानेयुवाको सङ्ख्या उल्लेख्य छ ।
ऋण गरेर वैदेशिक रोजगारीमा जाने युवकहरुले कमाएर ल्याउने रकमबाट घरखर्च चलाउन र ऋण तिर्नमै ठीक्क हुने भएकाले उनीहरूले आफ्नो आर्थिक अवस्थामा खासै परिवर्तनको आभास पाउन सकेका छैनन् । वैदेशिक रोजगार कम्पनीले परिचालन गरेका दलालको प्रलोभनमा परी अधिकांंशयुवाहरु विदेशिने गरेका छन् ।
अधिकांशयुवाहरु मलेसिया, साउदी अरब, कुवेत, कतारलगायतका देशमा मजदुरीका लागि जाने गरेको कुशहा ६ निवासी सत्य नारायण चौधरीले बताए । उहाँकाअनुसार सरकारले खाडी मुुलुक र मलेसियाका लागि रु ८० हजार दस्तुर निर्धारण गरे पनि दलालले आकर्षक पारिश्रमिक पाइने आश्वासन बाँड्दै रु एक लाखदेखि एक लाख २० हजारसम्म असुल्ने गरेकोे पाइन्छ ।
वैदेशिक रोजगारमा जाँदा अपनाउनुपर्ने सावधानी र जानकारीका अभावमा युवाहरु बढी शुल्क बुझाउन बाध्य रहेको उनले बताए । “आपूm कुन देश जाँदैछु” भन्नेसम्म धेरै युवाहरुलाई जानकारी नहुने गरेकाले दलालले एक कामका लागि भनिएकामा अर्कै काममा पठाउने गरेका र सजिलो काम भनेर धेरै युवकलाई बढी श्रम गर्नुपर्ने जोखिमयुक्त क्षेत्रमा पठाएको लहान–१ निवासी दिनेश देवले बताउँछन् ।
युवा वर्ग वैदेशिक रोजगारीमा लागेपछि कृषिक्षेत्रमा दक्ष जनशक्तिको अभाव हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै राजनीतिकर्मी सत्यनारायण यादवले भने दक्ष युवा जनशक्ति वैदेशिक रोजगारमा जान थालेपछि कृषिको उत्पादकत्वमा समेत ह्रास आउन थालेको छ । युवाको वैदेशिक रोजगारमा आकर्षण बढ्नामा कृषिको आधुनिकीकरण नहुनु र परिवारको खर्च धान्न नसक्नु नै प्रमुख कारक भएको उनले बताए ।
वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरुले मासिक पन्ध्रदेखि बढीमा रु २५ हजारसम्म कमाउने गरेका छन् । विदेशको कमाइबाट उनीहरूका परिवारको अवस्थामा खासै परिवर्तन नआए तापनि वर्षभरिका लागि खान र छोराछोरीलाई निजी विद्यालयमा पढाउन भने सघाउ पुगेको बताइन्छ ।
ऋण लिएर दुई छोरालाई वैदेशिक रोजगारमा पठाएका छेवल मण्डलले–पूरै परिवारका लागि वर्षभरि खेती गरेर खान पुग्ने अवस्था छैन, बेरोजगार भएर बस्नुभन्दा विदेशबाट पैसा कमाएर ल्याएपछि परिवारको अवस्था सुदृढ हुन्छ कि भनेर छोरालाई विदेश पठाएका हौँ ।
छोराहरूले विदेश गएको पाँच महीनामै रु ८० हजार पठाएका छन् । वैदेशिक रोजगारमा गएका परिवारको अवस्थामा खासै परिवर्तन नआएको बताउँदै मण्डलले भने उनीहरूले पठाएको रकम उत्पादनशील क्षेत्रको सट्टा घरजग्गा किन्नमै बढी खर्च भएको छ ।
तीन वर्षअघि मलेसिया पुगेर फर्केका भगवान साहले भने पैसाकै लागि विदेशिनु राम्रो नभएको तर्क गर्नुहुन्छ । वैदेशिक रोजगारमा भन्दा थोरै पूँजीमा भए पनि आफ्नै खेतमा तरकारी खेती गर्न सके बढी कमाउन सकिने, परिवारसँगै सुख दुःखमा रमाउन पाइने साहले बताए ।
मालिकले भनेको जुनसुकै बेला कामका लागि तयार हुनुपर्ने बाध्यता छ, कतिपयले त काम गर्न नसकेर आत्महत्या गरेका खबरसमेत पत्रपत्रिकामा पढेकै हुँ उनले सुनाए । दलालले अधिकांश युवकलाई भारतीय विमानस्थलको प्रयोग गरी विदेश पठाउने गरेकाले उनीहरू बढी जोखिममा रहेको नमूना बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले बताए ।