विद्यार्थीको भविष्यमाथि खेलवाड । परिषदका उपाध्यक्ष भ्रमणमै मस्त

उच्च माध्यमिक शिक्षक एशोसियसन हिस्टानले विद्यार्थीहरुको भविष्यप्रति शिक्षा मन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषद् गैरजिम्मेवार रहेको आरोप लगाएको छ । हिस्टानका महासचिव पुष्प न्यौपानेले कक्षा ११ र १२ का उत्तरपुस्तिका छिटोभन्दा छिटो जाँच गरी परीक्षाफल प्रकाशित गर्नुपर्ने दायित्वबाट पन्छिदै परिषद्का उपाध्यक्ष जिल्ला भ्रमणमा र शिक्षामन्त्री विदेश भ्रमणमा निस्किएको बताएका छन् । 
 
परिषद्को अध्यक्ष समेत रहेकी शिक्षा मन्त्री चित्रलेखा यादव मंगलबार नै चीन भ्रमणमा गएकी छन् भने उपाध्यक्ष डा. हेमकुमार मिश्र सोमवारदेखि नै जिल्ला भ्रमणमा निस्केका छन् । उपाध्यक्ष मिश्र परीक्षा समितिका अध्यक्ष समेत हुन् । हिस्टानको आन्दोलनबारे उनीहरुले नै पहल गर्नुपर्ने हो । आन्दोलनकारीहरुसँग वार्ता गरेर छिटो उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्नुपर्नेमा परिषद्को नेतृत्व गैर जिम्मेवार बन्दै भ्रमणमा निस्केपछि सर्वत्र आलोचना सुरु भएको छ । 
 
उच्च माध्यमिक विद्यालयहरुमा सरकारले कुनै पनि लगानी नगरेको र अहिलेसम्म एउटा पनि शिक्षक दरवन्दी नदिएको भन्दै हिस्टानले लामो समयदेखि आन्दोलन थालेको छ । परिषद्ले यसअघि उच्च माध्यमिक विद्यालयहरुबाट १० हजार रकम लिएर स्थायी सम्बन्धन दिने भने पनि अहिलेसम्म सम्बन्धन नदिएको पनि हिस्टानले आरोप लगाएको छ । यसरी परिषदले नै सबै उमाविहरुबाट १० हजार रकम उठाउनु र लामो समयसम्म कुनै काम नगरी बस्नु संस्थागत भ्रष्टाचार भएको हिस्टानले जनाएको छ । सोही माग राखेर हिस्टानले उत्तरपुस्तिका राखिएका परिषद्का कक्षहरुमा लगाएको तालावन्दी आज छैटौ दिन पनि जारी छ । 
 
गत वैशाख १९–३१ मा सम्पन्न कक्षा १२ र जेठ १–१२ मा सम्पन्न कक्षा ११ को परीक्षाको उत्तरपुस्तिका राखिएको कक्षमा तालावन्दी लगाइएको छ । उत्तरपुस्तिका कोडिङ गरेर सम्परीक्षण गरी असार मसान्तभित्र कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित गरिसक्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा छ । तर, अहिलेसम्म पनि कुनै पनि काम भएका छैनन् । असार मसान्तभित्र परीक्षाफल प्रकाशित नभएमा एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीहरु एक वर्ष पछि पर्ने निश्चित छ ।
 
परिषद्को अध्यक्ष शिक्षामन्त्री हुने प्रावधान छ । साथै हिस्टानले शिक्षामन्त्री समक्ष नै आफ्ना मागहरु पेश गरेको छ । तर, मन्त्रीले समेत यसप्रति कुनै चासो नदेखाएको हिस्टानको आरोप छ । शिक्षामन्त्री चित्रलेखा यादव मंगलबार नै चीन भ्रमण लागेकी छन् । 
 
उच्च माध्यमिक शिक्षा परिषद्को लामो समयसम्म परिषद् सभा बसेको छैन । यसअघि २२ औं सभा दिनानाथ शर्माको पालमा बसेको थियो । त्यसयता सभा राख्नेबारे परिषद्का उच्चाधिकारीहरुले कुनै चासो देखाएको छैन । परिषद्का अध्यक्ष शिक्षामन्त्री यादवले समेत कुनै चासो नराखेको स्रोतको भनाई छ । परिषद्को वार्षिक वजेट सभाबाट पारित गर्नुपर्ने हुन्छ । तर, परिषदले सभाबाट वजेट पारित नगरेरै करोडौं रकम खर्च गरिरहेको छ । यसप्रति पनि सरोकारवालाहरुले गम्भीर चासो व्यक्त गरेका छन् । 
Loading...