लालुका बाबु–छाेराकाे घरमा छापा मारेलगत्तै किन दिए नितिशले राजिनामा

काठमाडाै‌ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट राजीनामा दिएका छन् । नीतीशले बुधबार साँझ गभर्नर केशरीनाथ त्रिपाठीसमक्ष राजीनामा दिएका हुन् । राजीनामाको स्पष्ट कारण खुलेको छैन ।

गठबन्धनमा विवाद देखिएपछि राजीनामा दिन बाध्य भएको उनले संकेत गरेका छन् । बिहारको स्वार्थका लागि राजीनामा दिएको नीतीशले बताएका छन् । उनले आरजेडीका नेताहरूमाथि लागेको भ्रष्टाचारबारे छलफल गरेको, तर कुनै प्रगति नभएपछि काम गर्न समस्या भएकाले राजीनामा दिएको बताएका छन् ।

गभर्नरले नीतीशको राजीनामा बुधबार नै स्वीकृत गरेका छन् । सरकारबाट अलग हुनु एक मात्र समाधान हुने सोचेर राजीनामा दिएको उनले बताएका छन् । ‘यस्तो वातावरणमा काम गर्न सम्भव थिएन, तथापि मैले धेरै प्रयत्न गरेँ, तर सफल हुन सकिन,’ उनले भने । उनको राजीनामासँगै गठबन्धन सरकार संकटमा परेको छ ।

राजीनामापछि नीतीशकुमारलाई समर्थन गर्ने वा नगर्ने विषयमा बुधबार राति नयाँदिल्लीमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को बैठक चलेको थियो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले नीतीशको ‘भ्रष्टाचारविरुद्धको लडाइँ’ को समर्थन गर्ने बताएका छन् ।

Loading...