खै के लेखौं,
माया, विछोड, अपनत्व वा तिरस्कार,
अभाव, पिडा, दुख वा चित्कार,
वा देशप्रेम र राष्ट्रभक्तीका कथाहरू,
तिमी नै भन म के लेखौं?
असंख्य विषयको रासमाथि उभिएर,
न त कुनै विषय नै छ लेख्नलाई बाँकी,
न सोच्न सक्छ केही खाली दिमागले,
यस्तै शुन्यता र अन्यौलमा वसेर,
तिमी नै भन म के लेखौं?
साउने झरीको ओढ्ने ओढेर,
रात कटाउनेको व्यथा लेखौं,
वा भोको पेटमा पटुकि कसेर,
सारँगी रेट्नेको कथा लेखौं,
तिमी नै भन म के लेखौं?
कसैको खोक्रो उक्साहटमा,
सडकमै मर्नेको जवानि लेखौं,
वा दाजुभाइबिच फाटो ल्याएर,
सत्तामा पुग्नेको कहानि लेखौं,
तिमी नै भन म के लेखौं?
सुन्दर भविष्यको कल्पनामा,
विदेशिनेहरूको लाम लेखौं,
वा पहुँच अनि अवसरविहिन
वेरोजगारहरूको नाम लेखौं,
तिमी नै भन म के लेखौं?
खुलामञ्चमा भिडमा उभिएको,
अमुक नेताको झुठो भाषण लेखौं,
वा गरीबको झुुप्रोसम्म कहिल्यै नपुग्ने,
सिंहदरबारको शासन लेखौं,
तिमी नै भन म के लेखौं?
अनेक विषयको माझबाट,
न छनौट गर्नसक्छु म कुनै विषय,
किंकर्तव्यविमुढ र विवश मन लिएर,
न व्यक्त गर्नसक्छु म मेरा भावनाहरू,
यस्तो वेलामा, तिमी नै भन म के लेखौं?