रक्सोल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र अायात हुने

विरगंज । डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउन सकिने निगमले जानकारी दिएको छ ।

रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र आयात गरिने भएको छ । बजारमा डिजेलको माग धेरै रहेको र प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ल्याउन नमिल्ने भएकाले पनि पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागिएको हो ।

बजारमा कूल इन्धन खपतको ७० प्रतिशत डिजेलले ओगटेको छ । डिजेलको खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि ७५ प्रतिशत पाइपलाइनबाट आयात गर्दा बजारको माग धान्न सकिने नेपाल आयल निगमको भनाइ छ । नेपालमा डिजेल मासिक १ लाख ५० हजार किलोलिटर, पेट्रोल ४० हजार किलोलिटर र हवाई इन्धन १८ हजार किलोलिटर खपत हुनेगर्छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले पाइपलाइनबाट सवै पेट्रोलियम पदार्थ ल्याउन प्राविधिक रूपमा नमिल्ने भएकाले पहिलो चरणमा डिजेल मात्र ल्याउन लागिएको जानकारी दिए ।

पाइपलाइनबाट डिजेल ल्याएपछि पेट्रोल ल्याउन बीचमा मटीतेल हालेर सफा गर्नुपर्ने हुन्छ । एउटा प्रोेडक्ट ल्याएपछि बीचमा सफा गर्न मटीतेल हाल्नुपर्ने हुन्छ । जसका कारणले पनि पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागिएको हो । थोरै परिणाममा मटीतेल हालेर सवै पेट्रोलियम पदार्थ ल्याउने गरी इन्डियन आयल कर्पाेरेसन (आइओसी)सँग छलफल भइरहेको गोइतले जानकारी दिए ।

डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउन सकिने निगमले जानकारी दिएको छ । पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा बीच–बीचमा छुट्याउनका लागि मटीतेल आयात गर्नुपर्ने भएकाले मटीतेलको आयात धेरै हुने निगमको भनाइ छ । बजारमा मटीतेलको खपत भने न्यून छ ।

पाइपलाइनबाट प्रतिघन्टा २ सय २० किलोलिटरका दरले इन्धन आपूर्ति गरिने छ । पाइपलाइनबाट ल्याइएको इन्धन बाराको अमलेखगन्ज डिपोमा भन्डारण गरिने छ । अमलेखगन्जमा डिजेल १९ हजार ८ सय किलोलिटर र ८ हजार किलोलिटर पेट्रोल भन्डारण गर्ने क्षमता छ ।

पाइपलाइनबाट ढुवानी गरेको डिजेल, काठमाडौं, अमलेखगन्ज, पोखरा, वीरगन्ज, जनकपुर लगायतका जिल्लामा वितरण गरिने निगमको भनाइ छ । निगमका अनुसार वार्षिक रूपमा डिजेल खपत २० प्रतिशत दरले बढ्दै गएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत पाइपलाइन विच्छाउने काम अन्तिम चरणमा पुगेकाले अगामी मार्चभित्र तेल ल्याउने तयारी भएको निगमको भनाइ छ ।

Loading...