काठमाडौं । कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ठूलो संख्यामा शिक्षकहरु अनुत्तीर्ण भएका छन् । नतिजा प्रकाशन गर्ने र पुनर्योगको प्रक्रिया पनि चलिरहेकोले आयोगले यसको एकिन आँकडा बाहिर नल्याए पनि अहिलेसम्म प्रकाशित नतिजामा अनुत्तीर्ण हुनेहरुको प्रतिशत निकै धेरै देखिएको छ ।यो तथ्यसँगै नेपालको शिक्षाको मुहान कस्तो छ भन्ने उदाङ्गिएको छ ।
आयोग स्रोतका अनुसार सबैभन्दा बढी अनुत्तीर्ण हुने शिक्षक तराईका जिल्लाबाट छन् । जबकि अहिलेसम्म पनि अधिकांश पहाडी जिल्लामा तराईकै शिक्षकले अध्यापन गर्दै आएका छन् । अथवा आजसम्मको पहाडी जिल्लाको शैक्षिक उत्पादनमा तराईका शिक्षकको ठूलो हात छ । तर, अहिलेको यो नतिजाले त्यो उत्पादनको गुणस्तरमा प्रश्न उठाएको छ ।
आन्तरिक प्रतिस्पर्धामा आफ्नै कोटामाथि प्रतिस्पर्धा गर्नुपर्ने थियो । त्यो पनि धेरैजसो १०० पूर्णाङ्कमा ४० अंक मात्र ल्याए पुग्ने । प्रतिस्पर्धामा भाग लिनेहरुले त्यही ४० नम्बर पनि ल्याउन नसकेर अनुत्तीर्ण हुनु कहि न कहि शिक्षाको गुणस्तरसँग जोडिने विज्ञहरु बताउँछन ।
उसो त आयोगले लिएको परीक्षा प्रणाली र नतिजाको निष्पक्षतामाथि प्रश्न भने नउठेका होइनन । लामो समयपछि स्थायीका लागि खुलेको आयोगको परीक्षा पटक पटक स्थगित हुनु, परीक्षाका क्रममा प्रश्नपत्रमा केही त्रुटी भेटिनु, परीक्षा फाराम सङ्कलन अव्यवस्थित भएको भन्ने आरोप लाग्ने गरेपछि त्यस्ता प्रश्नहरु उठ्ने गरेका छन् ।
बाहिर यस्ता प्रश्नहरु उठे पनि शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतम भने त्यसमा सत्यता नभएको दावी गर्छन । नतिजाको निष्पक्षताका बारेमा उठाइएको प्रश्नका बारेमा ननस्टपखबरसँग कुरा गर्दै गौतमले यो अनुत्तीर्ण हुनेहरुको भावनात्मक आक्रोश मात्र भएको बताए । उत्तरपुस्तिकालाई दुई तीन तहको डिकोडिङ गरेर विषयगत विज्ञहरुबाटै जाँचिएकोले ती आरोपमा सत्यता नभएको उनको भनाई छ । उत्तरपुस्तिका जाँच्नेले परीक्षार्थीको सिम्वोल नम्बर, तथा अन्य कुनै पनि कुरा थाहा नपाउने गरी व्यवस्था गरिएको उनले बताए ।
स्पष्ट पाठ्यक्रम निर्धारण गरी परीक्षा लिइएको र उत्तरपुस्तिका जाँच्न अघि स्पष्ट मापदण्ड तयार पारी सोही आधारमा जाँच गरिएकोले यसको निष्पक्षतामा आयोग ढुक्क छ । अध्यक्ष गौतम अनुत्तीर्ण हुनेको भावनात्मक आक्रोश र गुनासामा अल्झिने भन्दा यसले नेपालको शैक्षिक गुणस्तर कायम गर्ने चिन्ता राख्नुपर्ने बताउँछन् ।
अध्यक्ष गौतम भन्छन, “शिक्षाको गुणस्तर बढाउन शिक्षक योग्य हुनैपर्दछ ।” शिक्षक छनौटको कुरालाई अन्य सामान्य रोजगारीको विषयसँग जोड्न नहुने उनको भनाइ छ । शिक्षकको महत्व नबढाइ र शिक्षकको क्षमता बृद्धि नगरी शिक्षामा त्यसबाट उत्पादन हुने जनशक्तिको गुणस्तर उच्च बनाउन नसकिने उनी बताउँछन् ।
“आफ्ना मान्छे रोजगारीमा लगाउने नाममा शिक्षकहरु भद्रगोल तरिकाले नियुक्ति गर्ने गरिएकाले नै अहिलेको परिणाम देखा परेको हो । अब यसपटक भने क्षमतावान मान्छेहरु छनौट हुन्छन ।” अध्यक्ष गौतमले थपे, हरेक बालबालिकाले योग्य शिक्षकबाट शिक्षा पाउनुपर्दछ । राज्यले त्यो सुनिश्चित गर्नुपर्दछ । तर, एकातिर यो भनिरहँदा अर्कोतिर समानुपातिक र समावेशी तरिकाले शिक्षक भर्ना गरिनुपर्छ भनिरहेको पाइन्छ । तर, यो कुराले शिक्षामा असर पु¥याउँछ । कोही शिक्षक ८० अंक ल्याएर अध्यापन गरिरहेका छन र अर्का शिक्षक ४५ अंक ल्याएर अध्यापन गरिरहेका छन । यसबाट शिक्षाको गुणस्तरमा फरक पार्छ नै । त्यसैले रोजगारीका हिसाबले आरक्षण दिने अरु क्षेत्र हुनसक्छन तर शिक्षामा यो कुरामा गल्ती गरिनु हुँदैन ।” उनले शिक्षाको गुणस्तरमा सुधार ल्याउन आयोगले कसैको दवाव विना नै काम गरिरहेको पनि बताए । अध्यक्ष गौतमले आफूहरुले यसपटक धेरै कुराको विश्लेषण गरी कानुन वमोजिम यो परीक्षा लिइएको र नतिजा प्रकाशन गरिएको दावी गरे ।
भेटिए उत्तरपुस्तिकामा जाँचकलाई प्रभाव पार्ने यस्तासम्म रोचक कुरा
आयोगले कार्यरत शिक्षकका लागि लिएको परीक्षामा केही उत्तरपुस्तिकामा जाँचकलाई प्रभाव पार्नेगरी रोचक सामाग्रीहरु भेटिएका छन् । आयोगले त्यसरी जाँचकलाई प्रभाव पार्न उत्तरपुस्तिकामा लेख्नेहरुको नतिजा रद्द गरेको छ ।
आयोग स्रोतका अनुसार उत्तरपुस्तिकामा कतिपयले आफूलाई जसरी पनि उत्तीर्ण बनाई दिन आग्रह गर्दै आफ्नो फोन नम्बर राखेर आफूले जति पनि सहयोग गर्न तयार रहेको कुरा पनि उल्लेख गरेको भेटिएको छ । त्यसैगरी कतिपयले आफ्नो आर्थिक आय स्रोत कमजोर भएको र उमेरले पनि बुढो भइसकेको भन्दै उत्तीर्ण बनाई दिन आग्रह गरेको भेटिएको छ ।
कतिपयले आफू शारीरिक रुपमा अपाङ्ग भएको फोटो समेत टाँसेर आफूलाई सहयोग गरिदिन अनुरोध पनि गरेको भेटिएको छ । कतिपयले आफू महिला भएको र आफ्ना पारिवारिक समस्याहरु कस्ता छन भन्नेबारेमा भावनात्मक कुराहरु लेखेर उत्तीर्ण गराइदिन हारगुहार गरेको पाइएको छ ।
उत्तरपुस्तिका जाँच्नु अगाडि नै आयोगले त्यस्तो कुरा पाइएमा नतिजा रद्द गर्ने आचारसंहिता बनाएको थियो । शिक्षामा गुणस्तर विकास गर्न त्यस्ता भावनात्मक कुरा र चलखेललाई रोकिएको आयोग स्रोतको भनाई छ । विगतमा लोकसेवाले लिने परीक्षामा पनि कतिपयले उत्तरपुस्तिकामा नै पैसा समेत टाँसेको पाइने गरेका थिए ।