आजदेखि डिभी अावेदन खुल्ला

सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ।

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ। डिभी भर्न परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन तर, रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।

आफै डिभी भर्न चाहनेहररूले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर आवेदन भर्न सक्ने छन्। डिभी भर्ने म्याद आगामी कात्तिक २० गतेसम्मका लागि तोकिएको छ।

अघिल्लो वर्ष डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न नपाइने अमेरिकी दूतावासले जनाएको छ।

अनलाइनमा उल्लेख भएको फोटोसम्बन्धी नियमलाई पूर्णतः पालना गर्न र डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ।