सधै फेल मात्र हुने प्रहरीका दुर्इ एसपी को हुन ?

काठमाडौं, १८ साउन । सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै पछि पर्नेछन् ।

सशस्त्र प्रहरी उपरीक्षकद्वय कृष्ण ढकाल र मनिष थापाको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको हो । ढकाल सिसुका मोरङ र थापा सिसुका रौतहटका प्रमुखका रुपमा कार्यरत छन् । सिसं १ कै विनोद श्रेष्ठ र प्रकाश थापाको स्टाफ कलेज यात्रामा पनि ‘ब्रेक’ लागिसकेको छ ।

सशस्त्रमा तीन पटक स्टाफ कोर्षको प्रवेश परीक्षा दिन पाउने व्यवस्था भएपनि अन्तिम पटक भन्दै मनिषलाई चौथो पटकका लागि मौका दिइएको थियो । तर, लगातार चौथो पटक परीक्षा दिँदा पनि वृत्तिविकासका लागि फलामे ढोका मानिएको स्टाफ कोर्षको प्रवेश परीक्षामै उनी उत्तीर्ण हुन् सकेनन् । स्टाफ कलेज अध्ययन गर्न नसक्ने उनीहरु अब बढीमा एसएसपी मात्रै बन्न सक्नेछन् । सशस्त्रमा डीआईजीका लागि स्टाफ कोर्ष गरेकै हुनुपर्छ । स्टाफ कलेज उत्तीर्ण गरेकालाई स्नातकोत्तरको मान्यता दिइएको छ ।

सिसं १ का सबै ९ जना गत जेठमा एसपीमा बढुवा भएका थिए । बढुवा गर्दा स्टाफ कलेज उत्तीर्ण गरेका पाँच जनापछि मात्रै स्टाफ कलेज नगरेकाको नाम राखिएको थियो । चौथो समुहको यो प्रवेश परीक्षामा दुई एसपी र २८ नायव उपरीक्षक (डीएसपी) सहित ३० जनाले परीक्षा दिएका थिए । परीक्षामा १२ जना मात्र उत्तीर्ण भएका छन् ।

Loading...