२०५९ सालको कुरा हो, मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो –‘कृष्णलाई त मा¥यो नि ।’ को कृष्ण ? उसले सबै भन्न सकेन । संकटकालको बेला थियो, सेना प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था थियो, दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको ठाउँका प्रत्यक्षदर्शीमध्येकै प्रहरी अफिसर थिए ।
फोन आएपछि हामीले यस विषयमा छलफल गर्यौं । तर, कन्फ्युजन भयो । मारिएका व्यक्तिको नाम ‘कृष्ण’ मात्रै भनिएको थियो । जबकि पक्राउ परेका कृष्णहरु दुईजना थिए, एउटा कृष्णध्वज खड्का, अर्का कृष्ण सेन । हामीले त्यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्को हप्ताको सोमबार फेरि फोन आयो । स्रोतले भन्यो –‘तपाईहरु समाचार छाप्न डराउनुभएछ यार ।’ हामीले भन्यौं –‘किन डराउनु र, को कृष्ण भन्ने डिटेलमा भन्नुप¥यो नि ।’ उसले भन्यो –‘त्यो पत्रकार कृष्ण के त ।’ यसपछि भने मारिने व्यक्ति कृष्ण सेन नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रिएको थियो । त्यो घटना थियो जेठ १३ गतेको ।
घटना के हो भनेर सोध्दा स्रोतले भन्यो – बसेर केरकार गर्दागर्दै ढली गो नि । औषधि नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधि पनि खान नपाएको, अलिअलि गर्दागर्दै ढल्यो ।’ कृष्ण सेनको हत्या हुँदा त्यहाँ कोको थिए ? यो प्रश्नमा स्रोतले भन्यो – तत्कालीन भ्याली डीआइजी अमरसिंह शाह, डीएपी विक्रम थापा, ज्याङ्गो ज्यान गरेका इन्स्पेक्टर कमल खाँड थिए । उनीहरुले कुटेर मारे ।’ अनि लास के गरे त ? ‘पिकअप गाडीमा हालेर लगे र विष्णुमतितिर सेलाए । पोल्नुभन्दा पहिले इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए ।’
स्रोतले हामीलाई यस्तो जानकारी दिएपछि हामीले ०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा समाचार लेख्यौं । अलविदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिवमा उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यमा उठेका थिए । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।
समाचार लेख्ने बेलामा मैले तत्कालीन भ्याली डिआइजी अमरसिंह शाहलाई पनि सोधें । उनले भाइ, लेख्नचाँहि नलेख्नोस्, तर अलिअलि तीतोमीठो गर्दागर्दै गयो क्या भने । अर्को हप्ता जनआस्थामा फलोअप स्टोरी गर्ने क्रममा फेरि पुरानो स्रोतलाई सोधेँं, ‘आखिर सेनलाई मारियो चाहिँ कसरी त ?’ स्रोतले भन्यो – तिनै डिआइजी अमरसिंहले कृष्ण सेनलाई सोधे, ल भन् तँ पनि ठकुरी, म पनि ठकुरी, राजा पनि ठकुरी, तैंले के ठानेको छस् र तैंले के गर्न सक्छस् ? कृष्ण सेन त्यति बोलिराखेका थिएनन् र उनी कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदा हिर्काउँदै मरिहाले ।
सेनको हत्यासम्बन्धी समाचार आएपछि गृहमन्त्रालयले यसबारेमा छानविन गर्न श्रीपुरुष ढकालको नेतृत्वमा आयोग पनि बनाएको थियो । हरिहर वस्तीले पोष्टमार्टम् गरेको भन्ने त्यसमा रिपोर्ट पनि छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने त्यसमा रिपोर्ट छ । आयोगमा हामीलाई पनि वयान लिन बोलाएको थियो । तर, हामी गएनौं ।
कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्को प्रहार भयो । त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री थिए । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सीपीजेबाट चर्को दबाव आयो । पत्रकार गोपाल बूढाथोकीलाई पनि त्यहीबेला सेनाले अपहरण गरेको स्थिति थियो । म भागीभागी हिँड्नुपरेको थियो । तत्कालीन प्रधानसेनापति प्रज्वलसमशेरको समाचार लेख्दा मलाई पक्राऊ पनि गरियो । तत्कालीन सेनापतिसँग मेरो झगडै भयो, उनले तँलाई सुट गर्छु सम्म भने । पञ्चायतकालमा विमर्श पत्रिकाबाट शासकहरुलाई जस्तो अप्ठ्यारो थियो, त्योबेला जनआस्थाबाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो । त्यसपछि अकस्मात श्रीषा प्रकरण आयो ।
श्रीषा कार्की प्रकरणमा ४४ जना मुछिएका छन् । लोकमानसिंह कार्की पनि यसका एउटा पात्र हुन् । कान्तिपुरका साहुहरु पनि हुन् । केशव स्थापित र खुमबहादुर खड्का पनि हुन् । उनीहरु सबै मसँग आगो भइराखेका थिए । प्रदीपसमशेर आइजीपी थिए, राधाकृष्ण मैनालीका सम्धी त्यतिबेला डीआइजी थिए, उनीहरु सबैले भूमिका खेले । उनीहरुले जनआस्था बन्द गराउन खोजे, तर सम्भव भएन । कान्तिपुर पनि मेरा विरुद्ध लाग्यो, युवराज घिमिरे मेरा साथी सम्पादक थिए, तर उनको बसमा थिएन कान्तिपुर । अजय दासले मसँग २२ मिनेटको अन्तरवार्ता लिएका थिए, तर एक सेकेन्ड पनि प्रसारण भएन । उनीहरुले हाम्रो भनाइ कहिँ कतै प्रकाशित गरेनन्, एकोहोरो स्टोरी दियो । अहिलेको लोकमान प्रकरणमा पनि उनीहरु यसैगरी परिचालित भए ।
श्रीषा प्रकरणमा मलाई पक्रनका लागि कसलाई खटाइएको थियो ? डीएसपी विक्रम थापा, जसले कृष्ण सेनलाई कुटेर मारेको भनेर हामीले लेखेका थियौं, तिनैलाई अनुसन्धान अधिकृत बनाएर खटाइएको थियो । किशोर श्रेष्ठलाई पक्रेर अनुसन्धान गर्न भनेर तिनै डीएसपी थापालाई खटाइएको तोक लगाएको कपी हामीसँग सुरक्षित छ । यसैबाट सबै कुरा प्रष्ट हुन्छ, सेनको हत्यासम्बन्धी समाचारको बदला लिनकै लागि हामीलाई ज्यान मुद्दा लगाइएको थियो । यो मुद्दा टुंगिन दुई वर्ष लाग्यो । यसबारे जनआस्थाका पत्रकार विश्वमणि सुवेदीको किताब पनि निस्कँदैछ ।
हामीले जोखिम मोलेर कृष्ण सेनको हत्यासम्बन्धी समाचार बाहिर ल्र्याए पनि हामीलाई माओवादी नेताहरुले सामान्य धन्यवादसम्म दिएनन् । बरु उल्टै हामीलाई सुराकी, दरबारिया आदि आरोप लगाउने काम गरे । माओवादीहरु आफू भलो त जगत भलो भन्नेखालका मान्छे हुन् । उनीहरुले यसमा हामीलाई जसरी हेरे पनि केही गुनासो छैन । किनभने हामीले व्यक्तिगत लाभका लागि सेनको हत्यासम्बन्धी समाचारमा जोखिम मोलेका थिएनौं । हामीले पत्रकारिताको धर्मनिर्वाह गरेका हौं, जोखिम मोलेका हौं । उनीहरुले धन्यवाद देलान् भनेर यो काम गरिएको होइन । स्रोतका अगाडि हामीले आफूहरु काँतर नरहेको देखायौं र उनले दिएको सूचनालाई सलाम गर्यौं । हामीले लेखेको समाचार सही सावित भयो । हामीले यो काम नगरेको भए अहिले पत्रकार कृष्ण सेनलाई माओवादीले बेपत्ताको सूचीमै राखिरहेका हुने थिए ।
कृष्ण सेन मेरा पनि साथी थिए । उनको आस्था र विचार जे भए पनि स्वाभाविक रुपमा एउटा पत्रकार त्यसरी मारिनु जघन्य अपराध हो । मरेको मान्छेलाई छातीमा गोली दागेर इन्काउन्टरमा मारिएको भनेर मुचुल्का तयार पार्नुजस्तो ठूलो अपराध अरु केही हुँदैन । (श्रेष्ठ जनअास्था साप्ताहिकका प्रधान सम्पादक हुनुहुन्छ । जनअास्था साप्ताहिकले सेनकाे हत्याकाे समाचार पहिलाे पटक लेखेकाे थियाे । याे सामाग्री श्रेष्ठसँग कुराकानी गरेर अनलार्इन खबरले चारवर्ष अघि तयार पारेकाे थियाे ।)