समानुपातिकमा थ्रेसहोल्ड कटाएका पाँच दललार्इ सिट बाँडफाँड हुँदै (हेर्नुहोस मत र सिटसहित)

काठमाडाैं, ४ पुस । निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सम्पन्न गरेको छ । मतगणना सुरु भएको ११ दिनपछि आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना सम्पन्न गरेको हो । आयोगका अनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् ।

राजनीतिक दलसम्बन्धीको ऐनअनुसार खसेको कूल सदर मतको ३ प्रतिशत मत कटाउने दल राष्ट्रिय दल बन्ने व्यवस्था छ । आयोगका सचिव तथा समानुपातिक निर्वाचनका मुख्य निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माका अनुसार गणना भएको मतलाई ‘टेबुलेसन’ भइरहेको छ । शर्माका अनुसार जति सकिन्छ, छिटो मतपरिणाम सार्वजनिक गरिनेछ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेस एमालेभन्दा ५७ सिटले पछि प¥यो । एमालेले प्रत्यक्षतर्फ ३० लाख ८२ हजार २७७ मत ल्यायो । उसले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४९४ मत पायो । यो मत प्रत्यक्षमा पाएकोभन्दा ९१ हजार २१७ बढी हो ।

कांग्रेसले समानुपातिकभन्दा प्रत्यक्ष निर्वाचनमा धेरै मत पाएको छ । प्रत्यक्षतर्फ ३५ लाख ९० हजार ७९३ मत पाएको कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २८ हजार ३८९ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २९ लाख ८२ हजार २४० मत पाएको थियो । तर, त्यतिखेरको भन्दा अहिलेको निर्वाचनमा पाएको मत एक लाख ४६ हजार १४९ ले बढी छ ।

माओवादीले स्थानीय तहको निर्वाचनमा १६ लाख दुई हजार ४५० मत पाएको थियो । यसपटक समानुपातिकमा दुई लाख ९८ हजार ७२९ कम मत पाएको छ ।

यस्ताे छ समानुपातिकमा थ्रेसहाेल्ड कटाएका पाँच दलकाे मत र सिट सङ्ख्या

एमाले ३१ लाख ७३ हजार ४९४ मत (३३.२४%) = ४१ सिट

कांग्रेस ३१ लाख २८ हजार ३८९ मत (३२.७७%) = ४० सिट

माअाेवादी १३ लाख तीन हजार ७२९ मत (१३.६५%) = १३ सिट

राजपा ४ लाख ७२ हजार २५४ मत (४.९४%) = ६ सिट

फोरम ४ लाख ७० हजार २०१ मत (४.९२%) = ६ सिट

समानुपातिकमा एमाले ३१ लाख ७३ हजार ४९४ मतसहित पहिलो पार्टी बनेको छ । एमालेले कुल सदर मतको ३३.२४ प्रतिशत पाएको छ । त्यस आधारमा यसले ४१ सिट पाउने भएकाे छ । त्यसैगरी प्रत्यक्षतर्फको सिटमा तेस्रो भएको कांग्रेसले समानुपातिकमा भने एमालेकै हाराहारीमा मत पाएको छ । आयोगको तथ्यांकअनुसार कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । यो ३२.७७ प्रतिशत मत हो । कांग्रेसले ४० सिट पाउने भएकाे छ ।

त्यसैगरी प्रत्यक्षतर्फकाे सिटमा दाेस्राे स्थान हात पारेकाे नेकपा माओवादी केन्द्रले १३ लाख तीन हजार ७२९ मत पाएको छ । याे १३.६५ प्रतिशत मत हाे । जसअनुसार माओवादीले १७ सिट पाउने छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फाेरमले पनि थ्रेसहाेल्ड कटाएका छन् । जसअनुसार राजपाले ४ लाख ७२ हजार २५४ मत पाएकाे छ । याे ४.९४ प्रतिशत हाे। संघीय समाजवादी फोरमले पनि ४ लाख ७० हजार २०१ मत ल्याएकाे छ । याे ४.९२ प्रतिशत मत हाे । प्राप्त मत अनुसार यी दुबै दलले ६–६ सिट पाउने भएका छन् ।

आयोगका अनुसार खसेको १ करोड पाँच लाख ८७ हजार मतमध्ये समानुपातिकमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ । नयाँ दलका रूपमा रहेका विवेकशील साझा पार्टी र नयाँ शक्तिले ३ प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् ।

यस्ताे छ दलले प्रत्यक्षमा पाएकाे मत र सिट सङ्ख्या

एमाले : ३० लाख ८२ हजार २७७ मत = ८० सिट

कांग्रेस : ३५ लाख ९० हजार ७९३ मत = २३ सिट

माओवादी = ३६ सिट

राजपा = ११ सिट

फोरम = १० सिट

अन्य = ५ सिट

Loading...