लाेकतन्त्र फासिवादमा पतन भयाे : दर्शन

अछाम, १२ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज शेरबहादुर बिक ‘दर्शन’ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा समेत रोक लगाएर संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको बताएका छन् ।

“संसदीय व्यवस्थाको लोकतन्त्र फासिवादमा पतन भएको छ, शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि गर्न समेत रोक लगाइएको छ । यही व्यवस्थाको संविधानले ग्यारेण्टी गरेको विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि हमला भइरहेको छ । यो संसदीय लोकतन्त्रको भद्दा नमूना हो” इन्चार्ज बिकले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्दा पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभचिन्तक शिक्षक, किसानलगायत सर्वसाधारणलाई गरिफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा इन्चार्ज बिकले गिरफ्तार गरिएका पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तकलाई विना सर्त रिहा गर्न र धरपकड र गिरफ्तार बन्द गर्न माग गरेका छन् । उनले गिरफ्तारी, दमन, धरपकड जारी राखे आफूहरु प्रतिरोध गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रहरीले सोमबार नेकपा निकट किसान संगठनका अध्यक्ष ददिराम बुढा, राष्ट्रिय युवा जनस्वयमसेकका जिल्ला सचिव कबिन्द्र शाही, शिक्षक नृप शाही र मानबहादु चलाउनेलाई गिरफ्तार गरेको थियो । यसअघि जिल्ला सदस्य सजन धामीलाई गिरफ्तार गरिसकेको थियो ।

Loading...