चुनावको मुखैमा मतदाताकाे घरघरमा ओलीको पत्र, बन्द खामभित्र यस्तो पो रहेछ

काठमाडाैं, १२ मंसिर । सूचना आदानप्रदानका लागि मोबाइल सबैभन्दा सहज छ । इमेल र मेसेन्जरबाट पनि सहजै सन्देश पठाउन सकिन्छ । हवाई पत्र त हराइसकेको छ । तर, अध्यक्ष केपी ओलीको नाममा एमालेले मत माग्दै मतदातालाई हवाई पत्र पठाएको छ ।

हवाई पत्रमा ओलीको हस्ताक्षर पनि छ । पत्रमा परम्परागत शैलीमा सम्बोधन गरिएको छ । सुरुवातमा भनिएको छ, ‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरू, नमस्कार ! आराम रही आरामको कामना गर्दछु । तपाईंहरूसँग भेटेर छलफल गर्ने इच्छा हुँदाहुँदै पनि सबैसँग प्रत्यक्ष भेट्न सम्भव नहुनेजस्तो लागेर यो पत्र लेख्दैछु ।

खासगरी आजको पत्रमा सँघारमै आएको चुनावको विषयलाई लिएर दुई–चार शब्द कोर्दै छु ।’ पत्रमा अनेक बाधाका बीच पनि संविधान बनेको भन्दै निर्वाचनलाई सदुपयोग गर्न आह्वान गरिएको छ ।

‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद ।’

ओलीको पत्रमा वर्षौंदेखिको गरिबी र पछौटेपन अन्त्य गर्दै वर्तमानको सदुपयोग गरी भविष्य सुनिश्चित गर्ने उल्लेख छ । वाम एकताले देश विकासलाई गति दिने पनि पत्र उल्लेख छ ।

ओलीको पत्रमा लेखिएको छ, ‘छरिएको वामपन्थी शक्तिलाई एकढिक्का बनाएर निर्वाचनमा विजय प्राप्त गरी राजनीतिक अस्थिरता समाप्त गर्दै मुलुकको विकासलाई तीव्र गतिमा अगाडि बढाउन यसपालि दुई ठूला वामपन्थी पार्टीहरू एमाले र माओवादी केन्द्र एकजुट भएका छौँ । तपाईंहरूकै चाहना र शुभेच्छाले नेपालमा एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने स्थिति आएको हो ।’

पत्रको अन्त्य पनि रोचक छ । उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

ओलीको पत्र देशका सबै जिल्लामा पठाएको एमाले सुनसरीले जनाएको छ । पत्र जिल्ला कमिटीबाट स्थानीय पार्टी कमिटीमा पठाई त्यहाँबाट मतदातालाई बाँडिएको छ । हवाई पत्रको बाहिरी भागमा पाउनेको नाम र ठेगाना लेखिएको छ ।

पाउनेको नाम र ठेगाना स्थानीय पार्टी कमिटीले लेखेको हो । एमाले सुनसरीले जिल्लाका दुई लाख मतदातालाई पार्टी अध्यक्षको पत्र पठाएको जिल्ला अध्यक्ष रमेश बस्नेतले जानकारी दिए ।

ओलीको पत्रले कार्यकर्ता र मतदाता उत्साही छन् । धरान विशेष इलाका कमिटीको कार्यालयमार्फत आफ्नो नाममा ओली लेखेको पत्र पाएपछि एमाले संगठित सदस्य विकेस चाम्लिङ उत्साहित छन् ।

त्यस्तै, बराह नगरपालिका– ५ की आशामाया चौधरी पनि ओलीको पत्र पाउँदा दंग छिन् । उनले भनिन्, ‘अध्यक्ष हाम्रो गाउँसम्म आउन सक्नुभएन, पत्रबाट भए पनि सम्झनुभयो ।

Loading...