राष्ट्रपतिलार्इ बर्खास्त गरी पार्टीबाटै निष्कासित गरियाे

एजेन्सी । जिम्बाबेको सत्तासीन जानु–पिएफ पार्टीले राष्ट्रपति रोबर्ट मुगाबेलाई पार्टी नेताबाट निष्कासित गरेको छ । आइतबार बसेको पार्टीको बैठकले ९३ वर्षीय मुगाबेलाई नेताबाट निष्कासित गरेको हो । बैठकले निवर्तमान उपराष्ट्रपति इमर्सन मनंगवालाई नयाँ नेतामा चयन गरेको छ ।

इमर्सनलाई मुगाबेले डेढ साताअघि उपराष्ट्रपतिबाट बर्खास्त गरेका थिए । त्यस्तै, बैठकले प्रथम महिला ग्रेस मुगाबेलाई महिलाको भगिनी संगठनको प्रमुखबाट हटाएको छ । पार्टीको निर्णयले मुगाबेलाई ठूलो झड्का दिएको छ । मुगाबेलाई राष्ट्रपतिबाट पनि हटाउने पक्रिया सुरु भइसकेको वार भेट्रान एसोसिएसनका प्रमुख क्रिस मुट्सभांगवाले जानकारी दिए । मुगाबेलाई पार्टीबाट निष्कासित गरेपछि राजधानी हरारेमा सर्वसाधारणले खुसीयाली मनाएका छन् ।

यसअघि पार्टीका १० शाखामध्ये ९ शाखाले मुगाबेले तत्काल पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेका थिए । उनीहरूको निर्णयलाई पार्टीको उच्च निकाय स्थायी समितिले आइतबार पारित गरेको छ । पार्टीको निर्णयले मुगाबे गम्भीर संकटमा परेको र उनी पुनः शक्तिमा फर्किने सम्भावना न्यून रहेको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

इमर्सनको पुनर्बहाली हुन सक्ने

३७ वर्षदेखि जिम्बाबेको शक्तिमा रहेका मुगाबेले उपराष्ट्रपति इमर्सन मनंगवालाई नोभेम्बर ६ मा बर्खास्त गरेपछि सेनाले जिम्बाबेमा हस्तक्षेप गरेको थियो । आगामी डिसेम्बरमा हुने पार्टी महाधिवेशनपछि इमसर्नको पुनर्बहाली हुने अनुमान गरिएको छ । निवर्तमान उपराष्ट्रपतिको सेनामा राम्रो प्रभाव छ । इमर्सनको बर्खास्तीसँगै मुगाबेकी पत्नी ग्रेस मुगाबे आगामी राष्ट्रपतिको दाबेदार बनेकी थिइन् । सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेपछि मुगाबेले जिम्बाबेमा शासन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय समुदायको दबाब

संविधानमार्फत राजीनितक संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायले जिम्बाबेलाई दबाब दिँदै आएको छ । वार्ताकारहरूले संकट समाधान गर्न जिम्बाबेको कानुनको व्याख्या गरिरहेका छन् । शनिबार हजारौँ सर्वसाधारण स्वस्फूर्त रूपमा सडकमा उत्रिएपछि सेनाको मनोबल बढेको र मुगाबेलाई राजीनामा दिन थप दबाब दिएर आफ्नो कदमलाई वैधानिकता दिने प्रयास गरिरहेको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

राष्ट्रपति मुगाबेले समर्थनको आधार निरन्तर रूपमा गुमाइरहेका छन् । उपनिवेशकालमा मुगाबेसँगै संघर्ष गरेका स्वतन्त्र युद्ध भेट्रानहरूले पनि आफ्ना पूर्वनेतालाई राजीनामा दिन दबाब दिइरहेका छन् । तर, आइतबार बसेको सत्तारुढ दल जानु–पिएफको स्थायी कमिटी बैठकको निर्णय मुगाबेका लागि सबैभन्दा ठूलो झड्का साबित भएको छ ।

मुगाबेले भेटे सेनाप्रमुख

बुधबारदेखि सेनाको नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेले सेनाका प्रमुखसँग भेटवार्ता गरेका छन् । पदबाट राजीनामा गर्न चौतर्फी दबाब बढिरहेका वेला मुगाबेले सेनाप्रमुखसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपति र सेनाप्रमुखबीचको भेटवार्ताको मध्यस्थता एक पादरीले गरेको जिम्बाबेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

मुगाबेको सम्मानजनक बहिर्गमनबारे छलफल भइरहेको सेनाले जनाएको छ । मुगाबेसँगको वार्ताको परिणाम जतिसक्दो चाँडो सार्वजनिक गर्ने सेनाले जनाएको छ । पदबाट राजीनामा दिई राजनीतिक संकट समाधानमा सहयोग गर्न सेनाले मुगाबेलाई दबाब दिइरहेको बताइन्छ । राजीनामाअघि मुगाबेले आफू र आफ्नो परिवारको सुरक्षाको सुनिश्चितताको माग दोहो¥याएका छन् । सेनाले मुगाबेनिकट दुई दर्जन उच्च अधिकारीलाई नियन्त्रणमा लिएको छ । केही अधिकारीको अवस्था अज्ञात छ । मुगाबेपत्नी ग्रेस मुगाबे नामिबिया भागेको अनुमान गरिएको छ ।

मुगाबेविरुद्ध बृहत् प्रदर्शन

मुगाबे युग अन्त्यको माग गर्दै १० हजार जिम्बाबेली नागरिक राजधानी हरारेमा शनिबार प्रदर्शन गरेका थिए । केही प्रदर्शनकारीले राष्ट्रपतिनिवास स्टेट हाउसमा मुगाबेविरुद्ध नारा लगाएका थिए । सैनिक हस्तक्षेपको समर्थन गर्दै उनीहरूले सडकमै नाचगान र खुसीयाली मनाएका थिए । मुगाबेका तस्बिर च्यातेर प्रदर्शनकारीले उनीहरूको निवासनजिकै मार्च गरेका थिए ।

Loading...