दर्जन बढी सुरक्षाकर्मीले यसरी पक्राउ गरे साहित्यकार थपलियालाई

काठमाडौं, १ मंसिर । प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष खेम थपलियालाई शुक्रबार अपरान्ह बागबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

प्रगतिशील लेखक संघले आयोजना गरेको साहित्यिक कार्यक्रममा सहभागी भएर कार्यक्रमहलबाट बाहिर निस्कने बित्तिकै साहित्यकार थपलियालाई एक दर्जन भन्दा बढीको संख्यामा आएका प्रहरीले पक्राउ गरेका हुन् ।

प्रलेसले श्रृंखलाबद्ध रुपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ९ औ श्रृंखलामा  सहभागी हुन थपलिया शुक्रबार दिउसो बागबजारमा रहेको प्रलेसको केन्द्रीय कार्यालयमा पुगेका थिए । उक्त कार्यक्रममा प्रलेसका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डंगोल, साहित्यकार नर्मदेश्वरी सत्याल लगायतका साहित्यकारहरुकाे पनि उपस्थिति रहेकाे थियाे । कार्यक्रम सकेपछि अपरान्ह सवा ५ बजे प्रलेसको केन्द्रीय कार्यालयबाट बाहिर निस्कने बित्तिकै थपलियालाई ‘तपाईलाई जिल्ला प्रहरी कार्यालयबाट ल्याउनु भन्ने आदेश आएको छ’ भन्दै प्रहरीले घेरा हाल्याे । थपलियासँगै अर्का कवि तथा साहित्यकार बैरागी जेठा, र अच्यूत तिवारीलाई प्रहरीले गाडीमा राखेर टेकुमा रहेको जिल्ला प्रहरी कार्यालयमा लग्याे ।

प्रलेसकै कार्यक्रमबाट उपाध्यक्ष थपलियासहित तीन जनालाई गिरफ्तार गरिएपछि प्रलेसका महासचिव आरएम डंगोलसहितले रिहाइका लागि पहल गरेका थिए । महासचिव डंगोल, राष्ट्रिय समाचार समितिका पत्रकार तथा प्रलेसका सचिवालय सदस्य प्रकाश सिलवाल र उत्तम अधिकारीले जिम्मेवारी लिएपछि पक्राउ परेका मध्ये बैरागी जेठा र अच्युत तिवारीलाई दुई घन्टापछि छोडे पनि थपलियालाई भने छाडिएन । उनलाई सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी गरिएको बुझिएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघको महासचिव समेत रहेका थपलियाका आधा दर्जन पुस्तकहरु प्रकाशित छन् । मूलतः नाट्य विधामा कलम चलाउने उनी पत्रकारितामा पनि क्रियाशील थिए । उनी जलजला मासिकका सम्पादक समेत हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत रहेका थपलियालाई प्रहरीले विना कारण गिरफ्तार गरिएको भन्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालले विरोध जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले एक विज्ञप्ती जारी गर्दै पत्रकार तथा साहित्यकार थपलियालाई तत्काल रिहा गर्न माग गरेका छन् । प्रहरीले श्रृंखलाबद्ध रुपमा पत्रकार तथा सर्वसाधारण नागरिकलाई राजनीतिक आस्था राखेकै भरमा गिरफ्तार गर्ने कार्य तीब पारेको भन्दै उनले यो कार्य रोक्न पनि माग गरेका छन् ।

अध्यक्ष चलाउनेले सरकार जवरजस्त द्वन्द्वको वातावरण सिर्जना गर्नतिर लागेको भन्दै यसलाई रोक्न सम्पूर्ण पत्रकारहरु, नेपाल पत्रकार महासंघसहित पत्रकारका संघसंस्था, राष्ट्रिय मानवअधिकार आयोगसहित मानवअधिकारकर्मीहरुलाई आवाज उठाउन आग्रह पनि गरेका छन् । साथै सबै संघ संस्था तथा अधिकारकर्मीलार्इ थपलियाकाे रिहार्इका लागि पहल गर्न पनि उनले अाग्रह गरेका छन् । 

Loading...