अस्पताल लग्दै गर्दा कोरोना संक्रमित युवतीको मृत्यु

वीरगञ्ज । विरगञ्जमा काेराेनाबाट एक जनाकाे मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ५९ पुगेकाे छ ।

विरगञ्जमा १८ वर्षीय युवती अस्पताल लैजान लाग्दा मृत्यु भएकाे हाे । पटक पटक वान्ता भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी ती युवतीमा परिक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियाे । पर्साको पोखरिया नगरपालिका ९ बर्वा टोलस्थित मामाघरमा बस्दै आएकी १८ वर्षकी युवतीको मृत्युपछि भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।

गत सोमबार राति घरमै रहेको बेला पटकपटक वान्ता गर्न थालेपति ती युवतीलाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमा नै मृत्युु भएको थियो । अस्पताल पुगेपछि मृत युवतीको स्वाब संकलन गरी परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको थियो।

मंगलबार राति ती युवतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्थायी कोरोना अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ ।

Loading...