विश्व युवा सम्मेलनका नाममा नेपालबाट तीनसय रसियातिर

काठमाडौँ, २५ असोज । रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा त्यसतर्फ लागेका छन् ।

विश्वभरका युवाको जमघट हुने उक्त फेष्टिभलमा नेपालको संस्कृति, खेलकुद आदि प्रस्तुत गरी विश्व समुदायमा नेपालको पहिचान स्थापित गरिने बताइएको छ । विश्वका १५० देशका करिब २० हजार युवाको सहभागिता रहने र नेपालबाट सबैभन्दा बढी ३०० युवा सहभागी हुने नेपालस्थित रसियन राजदूतावासले जनाएको छ ।

रसियन राजदूतावासको सहयोगमा ती युवा विद्यार्थी तथा युवा नेता रसिया जान लागेका हुन् । दूतावासले निःशुल्क प्रवेशाज्ञा र कार्यक्रम अवधिभर बस्न खानको व्यवस्था गरे पनि सहभागी युवाले त्यहाँसम्म जाने आउने हवाई भाडा भने आफैँले बेहोर्नेछन् ।

नेपालका तर्फबाट कार्यक्रमको व्यवस्थापन गरेका युवा व्यवसायी एवं विद्यार्थी नेता रमेश सिलवालकाअनुसार आज र भोलिसम्ममा सबै युवा रसिया पुगिसक्नेछन् । सिलवालको जिम्मामा मात्रै १५० युवालाई दूतावासले प्रवेशाज्ञा दिएको छ । कार्यक्रममा जाने युवामा विभिन्न राजनीतिक दल निकट भातृ संस्थाका युवा विद्यार्थी नेता, केही पत्रकार, अधिवक्ता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसमेत छन् ।

विश्वभरका युवा विद्यार्थीलाई एउटै थलोमा उतारेर युवाको विचार आदन प्रदानका साथै क्षमता अभिवृद्धिमा कार्यक्रमले सहयोग पुग्ने सिलवालले बताए । त्यहाँ जम्मा हुने युवाले आ–आफ्नो देशको प्रस्तुति दिनेछन् ।

नेपालबाट धेरै युवालाई सहभागीता जनाउने अवसर दिनपाएकोमा दुतावासले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली युवाका लागि यस्तै कार्यक्रम आयोजना गरिने जनाएको छ ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का प्रचार विभाग सचिव समेत रहेका चितवनका २९ वर्षीय सिलवाय वेलायतमा चार्डर एकाउन्टेन्ड कोर्ष गरी तीन वर्षअघि नेपाल फर्किएर युवा सशक्तिकरण अभियानमा लागेका छन् ।

आमन्त्रण र निवेदनको आधारमा दूतावासले सहजै प्रवेशाज्ञा दिएको बताउने सिलवाल यो कार्यक्रमबाट १५० देशको अनुभव, संस्कार बुझ्नुका साथै नेतृत्व विकासका लागि उपयोगी हुने बताउँछन् ।

Loading...