केपीले गृहमन्त्रीमा बादललाई नै राखम भन्दा प्रचण्डले मान्दै नमानेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् । ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठीकै भयो, भोलि आउनेले पनि राम्रै काम गर्लान्,’ बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधन उद्धृत गर्दै एक मन्त्रीले भने, ‘भोलि (बुधबार) तपाईंहरूले सार्वजनिक कार्यक्रम नराख्नुहोला, उपत्यका छाडेर धेरै टाढा पनि नजानुहोला ।’

प्रधानमन्त्री ओलीले आफूले सोचविचार गरेरै केही निर्णय गर्न लागेको बताए । ‘मैले केही सोचिरहेको छु, भोलि केही न केही निर्णय लिन्छु होला, सहकार्यका लागि तपाईंहरू सबैलाई धन्यवाद,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘फेरि पनि सहकार्य हुने नै छ, चित्त नदुखाउनुहोला ।’ बैठकमा विदेशमा रहेका दुवै उपप्रधानमन्त्री र शिक्षामन्त्रीसहित केही मन्त्री अनुपस्थित थिए ।

बुधबारै मन्त्रिपरिषद्बाट बाहिरिने सूचीमा रहेका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल बैठकमा नआएको मन्त्रिपरिषद् स्रोतको भनाइ छ । यस्तै अर्थमन्त्री युवराज खतिवडा र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल पनि मंगलबारको बैठकमा उपस्थित थिएनन् । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्ररचण्ड आफू निकटका केही मन्त्री तथा नेतासँगको परामर्शमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णय गरेका हुन् । मन्त्रीबाट कसलाई हटाउने र राख्ने भन्ने विषयमा दुई अध्यक्षबीच लामो समयदेखि छलफल चलिरहेको थियो ।

ओलीले आफ्नो भावनाअनुसार काम गर्न नसकेका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन मूल्यांकनअनुसार ‘रेड’ जोनमा रहेका केही मन्त्रीलाई हटाउने संकेत गरिसकेका छन् । मन्त्रीहरूको हेरफेर जिम्मेवारीका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार बिहान नेकपा सचिवालय बैठक पनि बोलाएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ५ देखि १० जनासम्म मन्त्री परिवर्तन हुन सक्नेछन् ।

पछिल्लोसमय ओली पोल्टामा पुगेका पूर्व माओवादी नेता रामबहादुर थापा बादल पनि डेन्जर जोनमा परेका मन्त्री हुन । उनलाई गृहमन्त्रीबाट हटाउन पूर्व माओवादी नेताहरु लागिपरेका छन् । पार्टी अध्यक्ष प्रचण्डको साथ् छोडेर ओलीको पोल्टामा पुगेका बादल ओलीकै चाप्लुसी गरेर गृहमन्त्री बनेको आरोप पूर्व माओवादी नेताहरुको छ । गृहमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बादलले प्रचण्डलाई टेर्न छोडे ।

बादलले ओलीको योजना अनुसार काम गरेपछि प्रचण्ड पछिल्लोसमय बादलदेखि रुष्ट बन्दै आएका थिए । मन्त्रिपरिषद्क पुनर्गठनको चर्चा सुरु भएसंगै प्रचण्डले हटाउने मन्त्रीहरुको सूचीमा बादलको नाम पनि राखे भने ओलीले उनलाई अहिले बिदा नगर्ने भन्दै अडान कसिरहेका छन् । बुधबार बिहानसम्म आइपुग्दा ओली र प्रचण्ड मन्त्रिपरिषद् हेरफेरको विषयमा वान टू वान वार्तामा छन् तर कुरा गृहमन्त्री बादल र खानेपानी मन्त्री बिना मगरमा आएर अड्किएको छ ।

ओली बिनालाई हटाएर बादललाई यथावत राख्ने योजनामा छन भने प्रचण्ड बरु बिना मगरले पनि बिदा लिए पनि बादल समेत हट्नुपर्ने अडानमा छन् । आफ्नो गृहमन्त्री हुँदा बादलले आफुलाई असहयोग हुनेगरी काम गरेको प्रचण्डको बुझाई छ । अहिले ओली-प्रचण्ड छलफलमा छन् र यो छलफल सकिएलगत्तै नेकपा हेडक्वार्टर बैठक बस्नेछ । २ नेताले कुन मन्त्रीलाई हटाउने र कुनलाई निरन्तरता दिने भन्ने विषयमा आजै निर्णय गर्नुपर्नेछ ।

Loading...