नख्खु कारागारमा तीन पूर्वमन्त्री सँगै बस्छन् आलम

काठमाडौँ, ४ मंसिर। विभिन्न आरोपमा मुछिएका तीन जना पूर्वमन्त्रीले एकै कारागारमा बन्दी जीवन बिताइरहेका छन् । ललितपुरको नख्खु कारागारमा मोहम्मद आफतव आलम, सञ्जय साह ‘टक्ला’ र नवीन विश्वकर्माले बन्दी जीवन बिताइरहेका छन् । आलमलाई बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा जिल्ला अदालत रौतहटले कात्तिक २९ मा पुर्पक्षका लागि जेल चलान गरेको थियो । अदालतको आदेशमा उल्लेख भएअनुसार सुरक्षाको कारण देखाउँदै उनलाई नख्खु कारागार पठाइएको हो । अदालतको आदेशपछि उनलाई गाडीमा हालेर नख्खु कारागारमा ल्याइएको जेलर सुरेन्द्र पौडेलले बताए ।

नख्खु कारागारको सीआरसी ब्लकमा राखिएका आलमले सामान्य कैदीबन्दी सरह जेलजीवन बिताइरहेको जेलर पौडेलले बताए ।

जेलर पौडेलले एक पटक भेटे आलमलाई

आलमलाई काठमाडौँ ल्याइएको पहिलो दिन नै आफूले भेटेको जेलर पौडेलले बताए । आलमले यसअघि तीन पटक कारागारमा बसेर रिहा भइसकेको आफूसँगको भेटको क्रममा बताएको पौडेलले जानकारी दिए । आलमको भनाइ उद्धृत गर्दै जेलर पौडेलेले भने, ‘कारागार के हो, मलाई राम्रोसँग थाहा छ । तपाईंको नियन्त्रणमा छु । मलाई केही कुराको पनि डर छैन ।’

काठमाडौँ ल्याइएको दिनदेखि आलमले आफन्तसँग पनि भेटघाट गरेका छन् । जेलर पौडेलेका अनुसार कारागार ल्याइएको पहिलो दिन उनलाई भेट्न ५० जनाभन्दा बढी मानिस आएका थिए । पौडेलले भने, ‘अहिले छिटफुट मात्र आउने गरेका छन् ।’ मधुमेहका रोगी आलमलाई परिवारले कारागारमै औषधि लगिदिएका थिए ।

५ जनासँगै बस्छन् आलम

मधुमेहका रोगी आलमसँगै ५ जना अन्य कैदीबन्दी बस्ने गरेको कारागार स्रोतले जनाएको छ । आलमलाई सीआरसी कम्युनिटी रिह्याबिटेसन सेन्टर ब्लकमा राखिएको छ । यो ब्लकमा लागूऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवा राखिन्छ । नख्खु कारागार स्रोतका अनुसार लागूऔषध दुव्र्यसनी र हत्या अभियोगका थुनुवासँगै आलम बस्दै आएका छन् ।

२०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा आलमलाई रौतहट प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो ।आलमसँगै अन्य दुई मन्त्री पनि नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् । पूर्वमन्त्री सञ्जय साह टकला र पूर्वराज्यमन्त्री नवीन विश्वकर्मा । साह र विश्वकर्मालाई डीआरसी ब्लकमा राखिएको छ ।

सञ्जय साह ‘टक्ला’

जनकपुरमा ५ जनाको ज्यान जाने गरी भएको बम काण्डमा पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई दोषी ठहर गर्दै जिल्ला अदालत धनुषाले २०७५ चैत १४ गते जन्मकैदको फैसला सुनायो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले त्यही घटनामा संलग्न ७ जनालाई जन्मकैदको फैसला सुनाएका हुन् ।

जन्मकैद सजाय पाउनेहरूमा पूर्व मन्त्री साह ‘टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण, रिपेन्द्र झा छन् । मिथिला राज्यको माग गर्दै मिथिला राज्य सङ्घर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो ।

जसमा रङ्गकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दाससहित ५ जनाको ज्यान गएको थियो । यस्तै ३२ जना घाइते भएका थिए । पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत बनेका थिए । बम काण्डपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

नवीन विश्वकर्मा

विश्वकर्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्युरो इन्चार्ज हुन् । गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विस्फोट गराएको आरोपमा विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उक्त विस्फोटमा एकजनाको ज्यान गएको थियो । प्रहरीले विश्वकर्माविरुद्ध कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध, ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो । जिल्ला अदालत ललितपुरले असोज १० गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । अदालतको आदेशसँगै विश्वकर्मालाई नख्खु कारागार पठाइएको थियो ।

२६३ जना कैदीबन्दी मानसिक रोगी

कारागारमा जेलर पाण्डेका अनुसार नख्खु कारागारमा २६३ जना कैदीबन्दी मानसिक रोगी छन् । उनीहरूको कारागारभित्रै डाक्टर बोलाएर उपचार गरिँदै आएको जेलर पौडेलले बताए ।कारागारभित्र मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल बन्दै गरेको समेत पौडेलले बताए । उनले भने, ‘एक महिनाभित्र सेवा दिन सुरु गर्छौं । देशैभरीका मानसिक कैदीबन्दी बिरामीको यहीँ उपचार हुनेछ ।’ नख्खु कारागारमा युनुस अन्सारी पनि छन् ।

Loading...