यि हुन् बिदाई हुने मन्त्रीहरु

काठमाडौं ४ मंसिर । सरकारका कामकारबाहीका विषयमा आलोचना भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि गरेको मन्त्रिपरिषद पुनर्गठनको तयारीलाई आज बुधबार अन्तिम निष्कर्षमा पुर्याउने भएका छन् । त्यसका लागि आजै बस्ने सचिवालयको बैठकबाट अनुमोदन गराएर नयाँ बन्ने मन्त्रीहरुको नामावली राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउन लागेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुको सामूहिक राजीनामा माग गर्ने चर्चा पनि चलिरहेका बेला उनले मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहिमन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारी गरेका छन् । अहिलेसम्म १० जना मन्त्रीहरुलाई जिम्मेवारी मुक्त गर्ने सोच बनाएका प्रधानमन्त्री ओली माथि नेताहरुको दवाव बढ्दै जाँदा १० जनालाई जिम्मेवारी मुक्त गर्ने कि ५ मन्त्री र दुई राज्यमन्त्री गरी ७ जनालाई बिदा गर्ने विषयमा प्रधानमन्त्री ओली निष्कर्षमा पुग्न सकेका छैनन ।

स्रोतका अनुसार कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, युवा तथा खेलकुद जगत विश्वकर्मा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गरेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ, अर्थमन्त्री युवराज खतिवडालाई हटाउने कि राख्ने विषयमा राति अबेरसम्म प्रधानमन्त्री ओली गम्भिर परामर्शमा रहेको बताइन्छ । हटाइने चर्चामा रहेका खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर, भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई मन्त्रीमा राखिरहने टुंगोमा पुगेको बालुवाटार स्रोतले बताएको छ ।

बिदाई हुने मन्त्रीहरूको जिम्मेवारीमा आउने नयाँ मन्त्रीहरूको नाम तयार भइसकेको छ तर त्यसलाई गोप्य राखिएको छ । बुधवार बिहान नेकपाको सचिवालय बैठक पनि बोलाइएको छ । प्रधानमन्त्री ओलीले सचिवालयमा मन्त्रिमण्डल पुनर्गठनको औपचारिक प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

Loading...