ठमेलको भट्टी पसलमा बसेर, गाउँको ठेकीमा पारिएको मोहीको कविता लेख्ने कविजस्तो

कविता: फरक

पहिले तिमी हाँस्दा
तिम्रा दाँतहरुमा टल्किन्थ्यो– झरनाको निर्मलता
तिम्रो मुहारमा मुस्काउँथ्यो
समाजको अतिक्रमणबाट मुक्त बालकको निर्दोषिता
तिम्रा आँखाका ओठहरु
र ओठका आँखाहरूको एउटै थियो भाषा

कवि/गजलकारः हिमालचन्द्र बराल

अहिले पनि तिमी मुस्काउँछौ
उहीँ ऊर्जा र भंगिमाकासाथ
तर, तिम्रा दाँतहरुमा चम्किन्छ
टुथपेस्टवाला बजारिया चतुरता
अनुहारमा झल्किन्छ
सुटिङ गर्नुअघिको घण्टौंको मेकअप
तिमी आँखा र ओठहरु
पर्खाल जोडिएर पनि अपरिचित रहने शहरका घरजस्तै
एकआपसमा भएका बिलकुल बिराना !

तिमी भएको छौ
कन्ट्रोलरुमबाट सम्पर्कविच्छेद भएको हवाईजहाज जस्त‍ो
आफ्नोपनको सौदाबाजीमा
बजार हुन खोजिरहेको गाउँजस्तो
डाइनिङ टेबलमा भात खान थालेपछि
पिरामा पलेटी कसेर भात खाने
हिजोको आफैंलाई मान्छे कम देख्ने आधुनिक मनुवाजस्तो
ठमेलको भट्टी पसलमा बसेर
गाउँको ठेकीमा पारिएको मोहीको कविता लेख्ने कविजस्तो

परिवर्तनको प्रकाण्ड पक्षपाती हौ तिमी
मसँग छैन कुनै गुनासोको फत्तुर पनि
तर मात्रै भन्नु छ एउटा कुरा
जतिसुकै कलात्मक किन नहोस
तर मोनालिसाभन्दा सुन्दर
कदापि हुन सक्दैन मोनालिसाको तस्बिर !

Loading...