शर्मा र पराजुलीलाई शमी साहित्य साधना सम्मान प्रदान

काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानले यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ समालोचकद्वय प्रा गोपीकृष्ण शर्मा र प्रा ठाकुर पराजुलीलाई संयुक्तरुपमा प्रदान गरेको छ । सम्मानको राशि एक लाख १०१ छ ।

यसैगरी सोही संस्थाको २५ हजार १०१ राशिको ‘लैङ्गिक समता अध्ययन पुरस्कार’ साउथ वेष्टर्न कलेज, वसुन्धराकी रोशनी अधिकारीलाई प्रदान गरियो । अधिकारीले गत वर्षको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा सो विषयमा सर्वाेत्कृष्ट नतिजा (८६ प्रतिशत) हासिल गरेका थिए ।

गोरखा अजिरकोट गाउँपालिकाका दृष्टिविहीन छात्राको स्नातकोत्तरसम्मको अध्ययन खर्च र एक कविता संग्रहको जिम्मेवारी पनि प्रतिष्ठानले लिएको संस्थाका संरक्षक डोलिन्द्रप्रसाद शर्माले घोषणा गरे ।

उच्च शिक्षामा कानून विषय पढ्ने तयारी गरेकी अधिकारीको प्रतिभाबाट प्रभावित भई साहित्यकार घनश्याम राजकर्णीकारले १६ हजार दिने घोषणा गरे ।

वाङ्यमय शताब्दी पुरुष सत्यमोहन जोशीले यहाँ आज आयोजित कार्यक्रममा सो सम्मान प्रदान गर्नुभएको हो । जोशीले पुरस्कार र सम्मानले प्रतिभालाई प्रोत्साहन मिल्ने बताए ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालले चार दशकसम्म साहित्य सेवा गरेका र राज्यले चिह्न नसकेका स्रष्टालाई सम्मान गरिँदै आएको जानकारी दिए ।

प्रतिष्ठान विसं २०७१ असोजमा स्थापना भएको हो । त्यसअघि विसं २०६६ देखि अक्सफोर्ड इन्टरनेशन पब्लिकेसन्सले पुरस्कार सञ्चालन गर्दै आएको छ । पब्लिकेसन्सका तत्कालीन सञ्चालक एवं हाल साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले पाँच लाखको अक्षय कोष खडा गरी सो पुरस्कार स्थापना भएको हो ।

Loading...