बाढीपछि अलपत्र परेका एकसिङ्गे गैँडा खोजिदै

चितवन, ६ असोज । प्राकृतिक प्रकोपका कारण दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बासस्थान खल्बलिएको र कतिपय गैँडाको मृत्युसमेत भएकाले तिनीहरूको अवस्था पत्ता लगाउन चितवन निकुञ्जमा गैँडाको अनुगमन गरिने भएको छ ।

प्रकोपका कारण गैँडामा परेको असर पत्ता लगाई संरक्षणको नयाँ रणनीति निर्माणका लागि अनुगमन गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । बाढीले गैँडाको बासस्थान खलबलिएको, गैँडा बगाएको र गैँडाको मृत्युसमेत भएकाले तथ्याँक अध्यावधि गर्न अनुगमन गर्न केही दिनअघि चितवन निकुञ्जले प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव सकारात्मक रहेको भन्दै विभागले गैँडाको अनुगमन गर्ने सोच बनाएको महानिर्देशक खड्का बताउँछन् ।

उनका अनुसार भ्याएसम्म २०७४ साल भित्रमा नभ्याए चालू आर्थिक वर्ष भित्रैमा गैँडाको अनुगमन गरिने छ । यो बीचमा बाघको अनुगमन गर्नुपर्ने भएकाले समय केही ढिला हुन सक्ने देखिएको छ । बर्दिया शुक्लाफाँटा र पर्सामा भने बासस्थानमा असर नपरेको खड्का बताउँछन् । नेपालमा हरेक चार वर्षमा गैँडा गणना गर्ने योजनाअनुसार यसअघि सन् २०१५ मा गैँडा गणना भएको थियो ।

आगामी सन् २०१९ मा गैँडा गणनाको समय भए पनि प्राकृतिक विपत्तिले चितवन निकुञ्जका वन्यजन्तुलाई नराम्ररी प्रभावित बनाएकाले अवस्था पत्ता लगाउन चालू आवमा नै गैँडा गणना गर्ने तयारी गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गैँडाको अनुगमन आवश्यक रहेकाले निर्णय गरेर निकुञ्ज विभागमा प्रस्ताव पेश गरिएको जानकारी दिए । हामीले निर्णय गरेर निकुञ्ज विभागका पठाएका छौँ,” कँडेलले भने, “बासस्थान बाढीले बिगारेको मात्र हैन कति बच्चा बगाएर मारेको पनि छ । त्यसैले तत्काल गणना गर्नुपर्छ भन्नेछ ।”

गत साउन २८ गते आएको बाढीले चितवनबाट बगाएर भारत पु¥याएको आठवटा गैँडालाई निकुञ्जले उद्धार गरेको छ भने बाढीले घाइते बनाएको दुईवटा गैँडा मरेको थियो । थाहै नपाई गैँडाका बच्चा बगाएर मरेको हुनसक्ने आशंका निकुञ्जले गरेको छ । त्यसैले पनि गैँडाको गणना आवश्यक भएकाले प्रस्ताव पेश गरिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । अघिल्लो वर्ष चितवनमा विभिन्न कारणले २५ वटा गैँडा मरेको थियो । यो वर्ष साउन र भदौमा मात्र नौवटा गैँडा मरिसकेको सूचना अधिकारी अर्याल बताउँछन् ।

यसअघि सन् २०१५ को गैँडा अनुगमनमा नेपालमा ६०५ गैँडा रहेका पाइएको थियो । चितवन निकुञ्जमा मात्रै ६०५ गैँडा रहेको अनुमान छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटामा आठ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैँडा रहेको तथ्याङ्क छ । गणनापछि चितवन निकुञ्जले बर्दियामा आठ र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिसकेको छ ।

प्राकृतिक विपत्ति रोग–ब्याधि तथा विभिन्न कारणले वन्यजन्तु नाश हुन सक्ने भएकाले प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण गर्न थालिएको हो । पछिल्लो सात वर्षमा तस्करका कारण तीनवटा गैँडा मारिएको छ ।

यो बीचमा एक हजार दिनसम्म शून्य चोरी शिकार समय मनाउन सफल भएको थियो । यो अवस्थालाई कायम राख्न ठूलो चुनौती रहेकाले सबै क्षेत्रको सहकार्यमा संरक्षण चुस्त पार्ने काम भइरहेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउँछन । समुदायको सहभागिताले नै संरक्षण सफल भएको मृगकुञ्ज उपभोक्ता समितिको बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङ बताउँछन । भोलि शुक्रबार विश्व गैँडा दिवसका अवसरमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरिने भएको छ ।

Loading...