विषाक्त खानाका कारण भारतमा १७० बालबालिका बिरामी

नयाँदिल्ली, ३० भदौ । भारतको पूर्वी उडिसा राज्यका तीन वटा विद्यालयमा विषाक्त खानाका कारण १७० भन्दा बढी बालबालिका बिरामी भएका छन् ।

झण्डै ५० जना आवासीय विद्यार्थी रहेको मल्कानगिरी जिल्लाको विद्यालयका बालबालिकाहरूले शुक्रबार बिहानै अस्वस्थ महसुस गरेका थिए ।

बिहानको खाजा खाने वित्तिकै उनीहरू बिरामी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारी ती विद्यालयहरूमा सामाजिक रूपमा पछाडी परिएका र निम्न आर्थिक अवस्था भएको परिवारका बालबालिकाले अध्ययन गर्दै आइरहेका थिए ।

बिहानको खाजा खाएपछि पेट दुखेको र बान्ता भएको बालबालिकाले बताएका छन्, एक जना सरकारी अधिकारीले भने । उनले थपे “बिरामी भएका बालबालिकालाई नजिकैको अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ ।”

स्थानीय सञ्चार माध्यमहरूले बालबालिकाका लागि ल्याइएको चामलको प्याकेटमै खराबी रहेको बताएका छन् ।

गत चौबिस घण्टाको अवधिमा विषाक्त खानाका कारण बिरामी भएको यो तेस्रो घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

बिहीबार मात्रै कालाहान्डी र गाजापाटी जिल्लामा दिउँसोको खाना खाएपछि १२० जना भन्दा बढी विद्यार्थी विरामी भएका थिए ।

“उक्त विद्यालयका बिरामी विद्यार्थीहरूलाई पनि अहिले अस्पतालमा उपचार गराइएको छ,” एक जना सरकारी अधिकारीले भने ।

विगत केही वर्षदेखि भारतका सरकारी प्राथमिक विद्यालयहरूमा सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । भोकमरी र कुपोषण न्यूनीकरण गर्न भन्दै सरकारले खाजा वितरणको कार्यक्रम ल्याएको हो ।

गत सन् २०१३ मा विहारको एउटा विद्यालयमा यस्तै विषाक्त खाना खाँदा बिरामी भएका मध्ये २२ जना बालबालिकाको मृत्यु भएको थियो ।

Loading...