टोनी हेगेनका तस्बिर प्रदर्शनमा

काठमाडौँ, ३० भदौ । भू–गर्भविद् टोनी हेगेनले मुलुकका विभिन्न भू–भागमा पुगेर खिचेका तस्वीरको बबरमहलस्थित नेपाल कला परिषद्मा आजदेखि प्रदर्शनी गरिएको छ ।

नेपाल हेरिटेज सोसाइटीको आयोजनामा आगामी असोज ९ गतेसम्म जारी रहने प्रदर्शनीमा विशेषगरी नेपालको हिमाली भेग तथा दुर्गम भागका प्रकृति, सम्पदालगायत विषयका करिब २०० तस्वीर समावेश गरिएका छन् ।

नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत जर्ग फ्रिडेनले प्रदर्शनीको उद्घाटन गर्दै हिमाली भेगको जनजीवन, प्राकृतिक सौन्दर्यले भरिएका तस्वीरले करिब छ दशक अगाडिको नेपालका अवस्थाबारे जानकारी दिएको बताए ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, शिक्षाविद् सुवर्ण शाक्यलगायतले स्वीटजरल्याण्डका हेगेनले सन् १९५० पछि नेपाल आएर यहाँका सम्पदा संस्कृतिबारे अध्ययन गरी नेपाललाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको स्मरण गरे ।

संस्कृतिविद् डा पुनम राणाले तत्कालीन राणा शासकले नेपालमा सुनखानीलगायत खनिजको सम्भावना अध्ययनका लागि हेगेनलाई नेपाल बोलाएको बताए ।

हेगेनको छोरी डा कार्टिनले नेपालका ग्रामीण बस्तीमा विद्यालय, बिजुली, पुल नभएर धेरै नेपालीलाई असुविधा भएकाले त्यस्ता क्षेत्रको विकासमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Loading...