थापाद्वारा लिखित सांगीतिक पुस्तक लोकार्पण

काठमाडौँ, २६ भदौ । अवकाश प्राप्त प्र्रहरी उपरीक्षक हस्तबहादुर थापाद्वारा लिखित सांगीतिक पुस्तक आज यहाँ सार्वजनिक गरिएको छ ।

उक्त कृति लोकार्पण गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांगीतिक विकासमा यस पुस्तकबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘लेखकले बेलायती सेनामा रहदा सिकेको सांगीतिक ज्ञानलाई नेपाल भित्र्याएर नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ब्याण्ड स्थापनाका लागि ठूलो सहयोग पु¥याएकाले यो पुस्तक नेपालको कला संस्कृति र संगीतको विकासमा फड्को मार्न सहयोगी हुने आशा गरेको छु ।’’

पाश्चात्य कला, संस्कृति र संगीतले नेपाली मौलिक कला संस्कृति र बाजागाजालाई लोप बनाउने खतरा बढेकाले यस्ता पुस्तकले ती बाजालाई सुत्रबद्ध गर्न सहयोग गर्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।

नेपाल नाट्य कला प्रतिष्ठानका कूलपति सरुभक्तले संगीतले मानवजातिलाई मात्र नभइ पशु र वनस्पतिलाई समेत प्रभावित र मन्त्रमुग्ध पार्न सक्ने विज्ञानले पुष्ठी गरेको चर्चा गर्नुभयो ।

उहाँले प्रतिष्ठानले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्दै आएको छ भन्दै लेखक थापालाई प्रतिष्ठानले प्रकाशित गर्ने गरी मौलिक र शास्त्रीय संगीत सम्बन्धी पुस्तक लेख्न पनि आग्रह गर्नुभयो ।

सांगीतिज्ञ प्रा दीपक जंगमले संगीतका विद्यार्थीका लागि पुस्तक उपयोगी हुने धारणा राख्नुभयो । उहाँले संगीतका आधारभूत विषयवस्तु उल्लेख गरी लेखिएका पुस्तक पाठ्यक्रममा समेत समेट्न सकिने बताउनुभयो ।

लेखकले स्टाफ नोटेशन तथा नेपाली पर्व संस्कार र सांस्कृतिक धून, प्राथमिक सुर, समता मार्ग भाग १, २ र भाग ३सम्म २८ वर्षे बेलायती सेनामा रहँदाको अनुभवबाट सिर्जना गरेको जानकारी दिनुभयो ।

उहाँको यसअघि पनि सरल संगीत, ज्ञानमाला, परम्परागत बिगुल, धून, नामक कृति प्रकाशित भइसकेका छन् ।

थापाले २८ वर्षसम्म गोर्खा– २ जिआर ब्याण्डमा रही क्याप्टेन पदबाट अवकाश लिनुभएको थियो । नेपालमा विसं २०३४ मा नेपाल प्रहरीको ब्याण्डमा रही काम गरेको अनुभव पनि उहाँमा छ ।

Loading...