आफ्ना वडाध्यक्षलाई आश्वस्त पार्दै ओलीले भने- माओवादी ६४ जसरी आउँदैन, नडराउनु

ललितपुर, ११ जेठ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरूलाई विकास र सुशासनका लागि पार्टीसँगको सम्बन्ध सुदृढ पार्दै काम गर्न निर्देशन दिएका छन्।

बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचित जनप्रतिनिधिहरूले जनतासँगको सम्पर्क बलियो राखी छिटो र सहज सेवा दिनुपर्नेमा जोड दिए। साथै, पालिकाका प्रमुख र उपप्रमुखहरूले अन्य पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध बनाउँदै सहकार्य गर्नुपर्ने बताएका छन्।

ओलीले निर्वाचन जितेपछि पार्टीसँगको सम्पर्क टुट्नु नहुने स्पष्ट गर्दै पार्टीका नीति तथा निर्देशनको पालना गर्दै अगाडि बढ्नुपर्ने बताए। एमालेलाई जनताको पार्टी र देशको स्वाधीनता तथा अखण्डताको पक्षमा दृढ पार्टीको रूपमा चित्रण गर्दै उनले तथाकथित वामपन्थीहरूबाट एमालेलाई कमजोर पार्ने प्रयास भएको दाबी गरे।

उनले नेकपा एकताको प्रयासपछि दुई-तिहाइ बहुमतसम्म पुगेको पार्टीलाई विभाजन गरेर एमालेको अभियान रोक्न खोजिएको आरोप लगाए। उनका अनुसार, विदेशी तथा स्वदेशी शक्तिहरू एमालेविरुद्ध षड्यन्त्रमा लागेको र यसलाई देशविरुद्धको हमला मान्नुपर्नेछ।

ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निशाना बनाउँदै गलत प्रचार फैलाएको आरोप लगाए भने माधव नेपाल र झलनाथ खनाललाई पार्टीमा असक्षम नेतृत्वका रूपमा चित्रित गरे। एमालेले परनिर्भर र अयोग्य नेतृत्व विस्थापन गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा अघि सारेको उनको भनाइ थियो।

राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्वहरू सक्रिय हुन थालेको भन्दै ओलीले कार्यकर्तालाई भ्रममा नपर्न र जनतामाझ सत्य उजागर गर्न आह्वान गरे। साथै, जेठ १५ गते प्रतिगामी शक्तिहरूले आयोजना गर्ने भनिएको प्रदर्शनको प्रतिवादमा तयारी रहन निर्देशन दिए।

भ्रष्टाचारको विरोध तथा सहकारी पीडितका आवाजको आडमा भ्रम फैलाउने कार्य भइरहेको उल्लेख गर्दै उनले एमाले कार्यकर्तालाई सतर्क रहन आग्रह गरे। माओवादीले २०६४ सालमा लडाकूको प्रयोग गरेर आतंकको राजनीति गरेको भन्दै त्यस्तो अवस्था अब नआउने दाबी पनि गरे।

उनले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै मिसन स्पष्ट बहुमतमा पार्टीलाई ल्याउने अभियानमा जुट्न सबैलाई आह्वान गरे।