भक्तपुरमा मृत भेटिइन् रोशनी शाही

भक्तपुर । भक्तपुरको सूर्यविनायक-३ बालकोटको बृहस्पति मार्ग स्थित ३ तले पक्की घरमा रोशनी शाही मृत फेला परेकी छन् ।

आइतबार दिउँसो करिब साढे १ बजेको समयमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

जाजरकोट स्थायी घर भएकी ५० वर्षिया शाही पहिलो तलामा डेरी गरि बस्दै आएकी थिइन् । कोठाको ढोका भित्रबाट चुकुल लगाई घोप्टो परी मृत अवस्थामा रहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

प्रहरी बृत्त थिमिबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भईरहेको उनको भनाइ छ ।

थिमि बृत्तका प्रमुख नवराज ढुङ्गानाले प्रारम्भिक अनुसन्धानमा आत्महत्या जस्तो देखिएपनि पोस्टमार्टम रिपोर्ट आएपछि यकिन भन्न सकिने बताएका छन् ।

मृतक रोशनी स्वास्थ्य सेवाकी सेवा निबृत्त कर्मचारी हुन् । केही वर्ष अघि तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको जाहेरी  लगाइ शाही चर्चामा आएकी थिइन् ।

सोहीकारण महरा पुर्पक्षका लागि थुनामा पुगेका थिए र उनको पद गएको थियो । तर, पछि महराले सो मुद्दाबाट सफाइ पाएका थिए ।