बारेकोटमा औषधि अभाव

जाजरकोट, २६ भदौ । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो ।

दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर खरिद गरेर लिन बाध्य भएको रोकाय गाउँका प्रेम बुढाले बताए ।

दैनिक ४० भन्दा बढी बिरामी उपचारका लागि आउने गरे पनि औषधि नहुँदा औषधि पसलकै भर परेको बुढाले बताउनुभयो । स्वास्थ्य चौकीमा सिटामोलसम्म नभएको उनले बताए ।

अहिले यस क्षेत्रमा सिजनल भाइरलको समस्याले अधिकांश स्थानीयवासी बिरामी भएका छन् । विभिन्न तालीमको बहानामा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी कमै बस्ने स्थानीयवासीको आरोप छ ।

यता स्वास्थ्य चौकीले ढुवानी गर्न समस्या र जिल्ला स्वास्थ्यले माग गरेअनुसारको औषधि पठाउन नमान्दा अभाव झेल्नुपरेको जनाएको छ । औषधि नहुने स्वास्थ्यमा गएर उपचार गर्नुभन्दा औषधि पसलमा गएर उपचार गर्नेको संख्या ठूलो भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले बताए ।

लिम्सा बारेकाट गाउँपालिकाको सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो । कानको उपचार गर्न पुगेको कालीप्रसाद थापाको कानको उपचारका लागि आवश्यक पर्ने उपकारण नहुँदा मोबाइलको सहाराले कानको भित्री भाग हेरिएको थियो ।

स्रोत र साधनको अभावमा यहाँको स्वास्थ्य चौकी समस्यामा पर्दै आएको छ । अप्रभावकारी सञ्चार सेवादेखि जनशक्ति, उपकारणको अभावमा दुर्गमका स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।

Loading...