एर्मा नामक आँधीका कारण आठको मृत्यु, २३ घाइते

एजेन्सी । यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको एर्माले फ्रान्सको क्यारेबियन टापुमा आठ जनाको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका छन् ।

प्रतिघण्टा ३६० किलोमिटरका दरले आएको आँधीले एक हजार ६०० जना बसोबास गर्नेे सेन्ट मार्टिन र सेन्ट बार्थेलेमी टापुमा सम्पूर्ण बस्तीलाई प्रभावित तुल्याएको छ । आँधीका कारण सम्पूर्ण भवन, घर तथा टहरालाई भत्काएको फ्रान्सका आन्तिरिक मामिला मन्त्री जेरार्ड कोलोम्बले बिहीबार बताए ।

रेडियो फ्रान्स इन्फोसँग कुराकानी गर्दै कोलम्बले एर्माका कारण मृत्यु हुनेको संख्या थप वृदि हुनसक्ने बताए । फ्रान्स र नेदरल्याण्डको साझा टापु सेन्ट मार्टिनको ९५ प्रतिशत भूभाग आँधीका कारण नराम्ररी प्रभावित भएको छ ।

“अझै हामीले सामुद्रिक तटमा रहेका बस्तीको सम्पूर्ण अवस्थाबारे रिपोर्ट संकलन गर्न सकिरहेका छैनौँ,” उनले भने । “बिहानीसँगै क्षतिबारे थप जानकारी गराउने छौँ ।”

एन्टिगुवा एण्ड बारब्युडाका प्रधानमन्त्री ग्यास्टन ब्राउनले भने, “हामीले पछिल्लो दुई दशकमा २०० माइल प्रतिघण्टाको गतिमा आउनसक्ने आँधीसँग जुध्ने किसिमका घरहरू बनाएका थियौँ तर पछिल्लो ७२ घण्टामा हामीले पछिल्लो आँधीसँग जुध्न आफ्ना स्रोत साधनको उच्चतम प्रयोग गर्नुप¥यो ।”

आपतकालीन सहयोगका प्रयासहरू बढी प्रभावित क्षेत्रसम्मको पहुँचमा देखिएका कठिनाइ र सञ्चार सम्पर्कमा उत्पन्न जटिलताका कारण प्रभावित भइरहेका छन् ।

सबैभन्दा शक्तिशाली अर्थात ’क्याटेगोरी फाइभ’मा पर्ने उक्त आँधी भर्जिन आइल्याण्डबाट अघि बढिरहेको अमेरिकी राष्ट्रिय आँधी केन्द्रले जनाएको छ ।

Loading...