बस बिसौनीको छाना खस्दा ९ जनाको मृत्यु

नयाँ दिल्ली, १८ भदौ । दक्षिण भारतमा बस विसौनीको छाना बिहीबार खस्दा र कम्तीमा नौ जनाको मृत्यु भएको छ भने घटनामा केयौँ अन्य व्यक्ति फसेको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलबाट ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

तामिलनाडुको राजधानी चेन्नइबाट ५१० किलोमिटर दक्षिणपश्चिममा अवस्थित कोइम्वातुर शहरको सोमानुर क्षेत्रको बस टर्मिनलमा रहेको छाना भत्किँदा भएको दुखद् घटनामा केही जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर मृतकको एकीन संख्याबारे पुष्टि भइनसकेको कोइम्बतुरका एक उच्च अधिकारीले सिन्ह्वालाई बताए ।

छानामुनि थप व्यक्ति परेको हुनसक्ने सूचनाका आधारमा बिहीबार साँझसम्म उद्धार जारी रहेको उनले बताए । घटनापछि सुरक्षा तथा स्थानीय युवाको पहलमा तत्कालै उद्धार शुरु भएको थियो ।

प्रहरीले छाना भत्किनुमा को दोषी भन्ने विषयमा छानबिन शुरु गरिएकोले थप कुरा अनुसन्धानपछि मात्रै बताउन सकिने जनाएको छ ।

गत महिना यस्तै एक घटनामा भारतीय आर्थिक राजधानी मुम्बईमा २१ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए । भारतमा कमजोर भौतिक संरचनाका कारण पटक पटक यस किसिमका दुर्घटना हुँदा वर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।

Loading...