मन्त्री नपाएपछि माओवादी केन्द्रका नेताले दिए सांसद र पार्टी केन्द्रीय सदस्यबाट राजिनामा

काठमाडौं, १७ भदाै । नेकपा माओवादी केन्द्रका एक संसदले पार्टीका सबै पद र सांसद पदबाटसमेत राजिनामा दिएका छन् । सांसद योगेन्द्र घिसिङले पार्टीभित्र पार्टी र नेताहरुले कार्यकर्ताहरुलार्इ उपयाेग मात्र गरेकाे बताउँदै त्यसकाे विराेध स्वरुप पार्टी परित्याग गरेकाे बताएका छन् ।

सांसद घिसिङ सभामुख ओनसरी घर्ती र पार्टीका प्रमुख सचेतक रेखा शर्मालाई अाफ्नाे राजिनामा पत्र बुझाएका हुन् । संविधान सभाको दोस्रो चरणको निर्वाचनमा ललितपुरबाट समानुपातिक सभासद बनेका थिए । माअाेवादी केन्द्रका केही नेताहरुले भने मन्त्री पद नपाएपछि घिसिङले राजिनामा दिएकाे अाराेप लगाएका छन् । उनी राज्यमन्त्री पर्ने कुरामा ढुक्क रहेका र पछि उनकाे नामै नअाएपछि अाक्राेशित बनेका थिए ।

उनी पार्टीको केन्द्रीय सदस्य, व्यवस्थापिका संसदमा राजनैतिक सम्वाद तथा सहमति समिति र सार्वजनिक लेखा समितिमा सदस्य रहेका थिए । उनी जनयुद्धकालकै घाइते योद्धा हुन् । उनले राजिनामा पत्रमा २७ वर्षको राजनैतिक यात्रामा जेल नेल र अमानवीय यातना भोग्नु परेको गुनासाे गर्दै देशका लागि रगत र शारीरिक अङ्ग समर्पित गर्न पाउँदा गौरवान्दित महशुस गरेको तर अहिले नेताहरुले अाली अाफू पद पाउनका लागि भर्याङ मात्र बनाएकाे महशुस भएकाे प्रष्६ पारेका छन् ।

नेपाली राजनीति यथास्थितिमा रहेको बताउँदै उनले राजनैतिक दलहरुको भ्रमपूर्ण व्यवहारका कारण इमान्दार, देशभक्त, स्वाभिमानी र प्रतिभावान राजनैतिक कार्यकर्ताहरु विक्षिप्त पुगेको बताएका छन् । ‘चुनाव र पार्टी महाधिवेशनमा मात्र कार्यकर्ता उपयोगको संस्कार विडम्बना र दुर्भाग्यपूर्ण हो’ उनले भने, ‘ यसमा गम्भीर खेद प्रकट गर्न चाहन्छु ।’

उनले माओवादी केन्द्रको मुख्य नेतृत्वलाई मुठिभर मानिसको घेरावन्दीमा रहेर गुठ सञ्चालन गरेको र पार्टीले जनजाति, मधेसी, दलित र मुस्लिमको आर्थिक, शैक्षिक र सभ्यताको विकास र सम्मानमा उचित विचार र कार्यनीतिको अभाव देखिएको बताएका छन् ।

‘केन्द्रदेखि वडासम्म आफ्नो खल्तीको चिट र सनकबाट भजनमण्डली तयार गर्दै स्वाभिमानी, इमान्दार र प्रतिभावान पंक्तिलाई बाटो बन्द गरी अलोकतान्त्रिक निरंकुश शैली चलाएर अन्तरपार्टी लोकतन्त्रको निरन्तर धज्जी उडाइएको छ,’ ‘उनले विज्ञप्तिमार्फत भने, ‘यसको परिणाम पार्टी विभाजन र विघटनमार्फत अभिव्यक्त भइरहेको छ ।’

केन्द्रीय सदस्य एवं कुनैपनि तहको जिम्मेवारीमा नरहने र वर्तमान व्यवस्थापिका संसदको सदस्य परित्याग गरेको उनले विज्ञप्ति मार्फन जानकारी गराएका छन् । यसअघि घिसिङलाई माओवादी जिल्ला कार्य समिति ललितपुरले पार्टीको साधारण सदस्य पनि नरहने गरी निस्कासित गरेको थियो ।

Loading...