यसरी भाँसिएर बग्न थाल्याे मुग्लिन नारायणगढ सडक

चितवन, १५ भदाै । नारायणगढ मुग्लिन सडक भाँसिदै बग्न थालेकाे छ । केही दिनदेखि लगातार परेकाे अविरल वर्षाका कारण सडक भाँसिदै बग्न थालेकाे हाे । सडक भासिएका कारण आज बिहानबाट साे सडकमा चल्ने सम्पूर्ण सवारी पूर्ण रुपमा बन्द भएका छन ।

नारायणगढ मुग्लिन सडक आयोजनाले केही दिन यस सडकमा यातायात सूचारु गर्न कठिन हुने जनाएकाे छ । अहिले चार ठाउँमा पहिरो गए पनि सफा गरेको तर भासिएको सडक मर्मत गर्न समय लाग्ने आयोजनाले जनाएको छ ।

‘मुग्लिनदेखि नारायणगढ तर्फ चार किलो भन्ने ठाउँमा सडकको लगभग चार मिटर चौडा भाग ५० मिटर लम्बाइसम्म भासिएका कारण आज सो सडक खण्डमा गाडी चल्न गाह्रै छ,’ नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । मुग्लिनदेखि जलबिरेसम्म चार ठाउँमा पहिरो गए पनि ती सफा गरेको तर भासिएको सडकको मर्मतका विषयमा अहिल्यै केही भन्न नसकिने उनले बताए ।

‘भाँसिएको यो खण्डले अब लामै समय दुःख दिनसक्ने अवस्था पनि रहन सक्छ । तर हामी चाडैभन्दा चाडै मर्मत गरेर दुई तर्फी रुपमै यातायात चलाउने योजनामा छौं,’ इन्जिनियर खनालले भने । सो सडक क्षेत्रमा हिजो साँझदेखि नै लगातार पानी परेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तारको काम भइरहेको छ । फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरो गएर पटक पटक दुःख दिने गरेको छ ।

सो सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्ग हो । अन्य वैकल्पिक सडकहरु भए पनि सो सडक जस्तो फराकिलो छैनन् । दैनिक १० हजारसम्म गाडीहरु ओहोर दोहोर गर्ने सो सडकमा आवागमन ठप्प हुँदा हज्जारौं यात्रु मर्कामा पर्छन् । सडक निर्माणमा भएको ढिला सुस्ति र पहिरोका कारण यात्रुहरुले सधै हैरानी बेहोरेका छन् ।

Loading...