कलंकीमा एक इन्जिनियरकी छोरी सुत्ने कोठामा मध्यराति गोली प्रहार

काठमाडौं, १४ साउन । काठमाडौंको कलंकीमा १ घरमा गोली प्रहार भएको छ । इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा सोमवार राति गोली प्रहार भएको हो ।

कलंकीमाई मन्दिर नजिकै रहेको हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको ३ तले घरलाई लक्षित गरी गोली प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले शर्माकी २० वर्षीया छोरी सुत्ने कोठामा राति एकाएक गोली प्रहार भएको तर गोली प्रहारबाट कोहीलाई केही नभएको जनाएको छ । गोली लागेर घरको झ्यालका सिसा भने फुटेका छन ।

गोली प्रहार भएलगत्तै शर्मा परिवारले प्रहरीलाई खबर गरेको थियो । महानगरीय प्रहरी बृत्त कालिमाटी र काठमाडौं परिसरबाट गएको प्रहरी टोलीले घरको कोठाबाट एउटा गोली फेला पारेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले दुर्घटनाबस गोली चलेको हुनसक्ने बताए ।

‘अहिलेसम्म गोली कसले चलाएको हो भन्ने विषय यकिन हुने सकेको छैन । हामीले यसमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं,’ सुवेदीले भने, ‘कसैले दुर्घटनाबस गोली चलाएको हुनसक्छ भन्ने कुरा पनि आएको छ । त्यस क्षेत्रमा इजाजत प्राप्त हतियार भएका व्यक्तिमाथि पनि अनुसन्धान भइरहेको छ ।’

एसएसपी सुवेदीका अनुसार शर्माको घरको कोठाबाट २.२ एमएमको गोली फेला परेको छ । उक्त गोली पेस्तोलको नभइ सानो हतियारको भएको सुवेदीले बताए ।

Loading...