गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार, पक्रन खोज्दा गोली चलाउने नदीमा हामफाले

अछाम, २९ भदौ । अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ ।

जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे ।

गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि गाेली हानिएको प्रहरीले जनाएको छ। तर, गाेली कसले किन चलाएकाे हाे भन्ने अहिलेसम्म थाहा हुनसकेकाे छैन ।

स्थानीयका अनुसार एकजना गहुँ गोरो वर्णको व्यक्तिले अाएर गाेली चलाएकाे थाहा हुन अाएकाे छ । उक्त व्यक्तिले चलाएको गोली भुईमा लागेेे साउद जाेगिएकाे स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले खबर अाउनासाथ घटनास्थलमा प्रहरी टाेली पुगेको जानकारी दिए । प्रहरी टोलीलाई देखेर भागेको उक्त व्यक्ति पक्राउ गर्न खोज्दा कैलास खोलामा हाम फालेको प्रहरीले जनाएकाे छ । उनकाे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

घटना स्थलमा शान्तडा प्रहरी चौकीमा कार्यरत सहायक निरीक्षक भरत बहादुर रोकायको टोली खटिएको छ । यस्तै, जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट प्रहरी निरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा ११ जनाको प्रहरी टोलीसमेत खटाइएको छ । अहिलेसम्म कुनै समूहले घटनाबारे जिम्मा लिएको छैन । 

Loading...