अछाम । अछामको रामारोशनमा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ । बाढीमा परेर दुर्इ दर्जनभन्दा बढी वेपत्ता भएका छन भने रामाराेशन गाउँपालिकाका थुप्रै घर, पसल, पुल, बाटाेसहितका भाैतिक संरचनामा पनि ठूलाे क्षति पुर्याएकाे छ ।
बाढीले सैनीबजारमा ठूलाे क्षति पुर्याएकाे छ । साे ठाउँका नन्दु साउदका १० जना परिवार नै वेपत्ता भएकाे खबर आएकाे छ । त्यसैगरी बारला निवासी लालसरा शाह र उनका छोरा, हिक्मत शाहका २ जना परिवार, चन्द्र साउद, बासु साउद र जोगा साउद वेपत्ता भएकाे त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।
अछाम जिल्ला प्रहरी कार्यालयले बाढीले दर्जनौं परिवार विस्थापित भएकाे जानकारी दिएकाे छ । प्रहरीका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।
बाढीमा परेका रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको बताइएकाे छ । बाढीले दर्नामा रहेकाे पक्की पुल नै बगाएको छ ।
कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीकाे टोली घटनास्थलतर्फ लागेको बताइएकाे छ ।
अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको जानकारी दिएका छन । उनले घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेकाे जानकारी पनि दिए ।