बाढीबाट चितवनमा मात्र २ करोड ७४ लाखका पशुपक्षी क्षति

चितवन, ७ साउन । गत महिना आएको बाढीका कारण जिल्लामा दुई करोड ७४ लाख ४३ हजार बराबरको पशुपक्षी क्षति भएको छ ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार बाढीका कारण सबैभन्दा बढी क्षति कुखुरामा भएको छ । ब्वायलरतर्फ एक करोड ३९ लाख ५० हजार, लेयर्स कुखुरा ८८ लाख ४४ हजार, स्थानीय कुखुरा तीन लाख तीन हजारको क्षति भएको छ । बाढीका कारण ११ वटा गाई मरेका थिए ।

यस्तै बाढीबाट आठ लाख २५ हजार बराबरका ५५ वटा बाख्रा, सात लाख ९० हजार बराबरका ७९ वटा बंगुर, हाँस २२४ वटा, चोकर १९० बोरा र दाना सात हजार ४५३ किलो नष्ट भएको कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिए ।

बाढीबाट १३ वटा खोर÷गोठ नष्ट भएको छ । भरतपुर महानगरपालिकामा एक करोड २६ लाख ४६ हजार बराबरको पशुपक्षी क्षति भएको छ ।

रत्ननगर नगरपालिकामा ९२ लाख १४ हजार, माडी नगरपालिकामा तीन लाख तीन हजार, खैरहनी नगरपालिकामा ३१ लाख ६५ हजार, राप्ती नगरपालिकामा २१ लाख १५ हजार बराबरको पशुपक्षी क्षति भएको कार्यालयले जनाएको छ ।

भूकम्प पीडितले राहात पाए

यसैगरी जिल्लाका दुई हजार ४३५ जना भूकम्प पीडितले पहिलो किस्ताबापतको रकम बुझेका छन् । पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार भूकम्प प्रभावितलाई रहात रकम वितरण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ ।

जिल्लामा भूकम्पका कारण सात हजार ३३४ घर पूर्ण रूपमा र आंशिक रूपमा ५९४ घर क्षति भएका थिए । भूकम्पका कारण क्षति भएका घर परिवारको राहतको रकम वितरणको काम भइरहेको स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

पूर्णक्षति भएका घरका लागि राज्यले तीन किस्तामा तीन लाख र आंशिक क्षति भएका घरका लागि दुई किस्तामा एक लाख दिने गरेको छ ।

पहिलो किस्ताबापतको रकम दसँैअघि सबै भूकम्प प्रभावितलाई बुझाइसक्ने तयारी भएको उहाँले बताउनुभयो । अधिकारी सुवेदीकाअनुसार अहिले ६०१ जनाको राहात वितरणका लागि अन्तिम प्रक्रियामा पुगेको छ ।अन्य प्रभावितका लागि स्थानीय तहसँग समन्वय गरी सम्झौताको काम भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भूकम्पका कारण बढी प्रभावित भएको थियो । राहात रकम नपाउँदा भूकम्प प्रभावित अहिलेसम्म टहरामा रात बिताउन बाध्य छन् ।

Loading...