पौडेल हत्याको बदला लिने विप्लवको चेतावनी, असार १० नेपाल बन्दको घोषणा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विहिवार प्रहरीद्वारा सर्लाहीमा भएको जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्याको विरोधमा यही असार १० गते नेपाल बन्दको घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले शुक्रवार एक पे्रस विज्ञप्ति जारी गर्दै पार्टीका नेता र कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन् । विज्ञप्ति मार्फत नेकपाले सरकारले फासिवादी शैलीले देशभर बर्बरतापूर्वक हत्या अभियान सञ्चालन गरेको भन्दै त्यसका विरुद्ध यही असार १० गते मङ्गलबार नेपाल बन्दलगायत सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा सरकारले देशलाई भयानक भिडन्ततिर धकेल्ने र लूटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गर्दै गरेको आरोप लगाइएको छ ।

असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाही लालबन्दी १ लखन्ती खोलामा नेकपाका सर्लाही जिल्ला इन्चार्ज पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ र जनता तथा आफ्नो गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सार्वजनिक गरेको आरोप नेकपाले लगाएको छ ।

पार्टी फासिवादी सरकारको त्यो दाबी खारेज गर्दछ र सबै न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी, सञ्चारजगत् र बौद्धिक तथा नागरिक समाजसँग निष्पक्ष छानबिनकालागि अपिल गर्दछ । विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ । सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

नेकपाले बर्बरतापूर्ण हत्याकाविरुद्ध सार्वजनिक गरेको सङ्घर्षका कार्यक्रमहरू यसप्रकार रहेका छन् :

– असार ७ गते प्रचार प्रसार
– असार ८ गते कोणसभा तथा घरदैलो
– असार ९ गते मसाल जुलुस
– असार १० गते नेपाल बन्द

विज्ञप्तिको पूर्णपाठ

Loading...