इतिहासकै ठुलो योगफल बनाए पनि टरेन बंगलादेशको हार, अस्ट्रेलिया ४८ रनले विजयी

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत २६ औं खेलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले बंगालदेशलाई ४८ रनले पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ।

जितसंगै अस्ट्रेलिया ६ खेलमा ५ जित र १ हार सहित १० अंक सहित अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। ९ अंक सहित न्युजिल्याण्ड दोश्रो, ८ अंक सहित इंग्ल्याण्ड तेश्रो र ७ अंक बटुलेको भारत चौथो स्थानमा रहेको छ। हार पछि बंगलादेश ६ खेलमा २ जित र ३ हारको साथ ५ अंक सहित पाँचौ स्थानमा रहेको छ।

ट्रेन्ट ब्रिज स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले पहिले ब्याटिंग गर्दै दिएको ३८२ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ५० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर ३३३ रन मात्रै बनाउन सक्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले बनाएको यो नै अहिलेसम्मकै सर्वाधिक योगफल हो। यस अघि दक्षिण अफ्रीका बिरुद्ध यसरी विश्वकपमा बंगलादेशले ३३० रन बनाएको थियो जुन रेकर्ड छोटो समयमै तोडिएको हो। एकदिवसीयमा बंगलादेशले अहिलेसम्म मात्र १६ पटक ३०० माथिको योगफल बनाउन सकेको छ।

अस्ट्रेलियाले दिएको ३८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बंगलादेशको लागि मुस्फिकुर रहिमले शतक बनाउने क्रममा अविजित १०२ रन बनाए। जुन क्रममा उनले ९७ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै हमदुल्लाहले ६९, तामिम इकबालले ६२ तथा शाकिब अल हसनले ४१ रन बनाए। पाँचौ विकेटको लागि रहिम र महम्दुल्लाहले १२७ रनको साझेदारी गरेका थिए।

मुस्फीकुरको शतक बंगलादेशी खेलाडीले विश्वकपमा बनाएको पाँचौ शतक हो। शकिब अल हसन र महमदुल्लाहले यस अघि २/२ वटा शतक बनाएका थिए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क ( १०-०-५५-२ ) , नाथन कौलटर ( १०-०-५८-२ ) र मार्कस स्टोइनिस ( ८-०-५४-२ ) ले २/२ विकेट लिए। एडम जाम्पा ( ९-०-६८-१ ) ले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाको लागि डेभिड वार्नरले १६६ रन बनाएका थिए जुन क्रममा १४ चौका र ५ छक्का प्रहार गरे। यस्तै उस्मान ख्वाजाले ८९, एरोन फिंचले ५३ रन बनाए। बंगलादेश बलर सौम्य सरकारले ३ विकेट ( ८-०-५८-३ ) लिए।

Loading...