वेस्ट इन्डिज बिरुद्द बंगलादेशको सानदार जित

ऐजेन्सी ।  विश्वकप क्रिकेट अन्तर्गत २३ औं खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटको अन्तरले पराजित गरेको छ। जितसंगै बंगलादेश पाचौं स्थानमा उक्लिएको छ। पराजित वेस्ट इन्डिजले सातौँ स्थानमा रहेको छ।

टाउन्टनमा सम्पन्न खेलमा जित हात पारेको बंगलादेशको ५ खेलबाट ५ अंक रहेको छ भने वेस्ट इन्डिजको समान ५ खेलबाट मात्र ३ अंक रहेको छ। ५ खेलबाट ८ अंक जोडेको अष्ट्रेलिया शिर्ष स्थानमा रहंदा समान ४ खेलबाट ७/७ अंक भएका न्युजिल्यान्ड र भारत क्रमश: दोश्रो र तेस्रो स्थानमा छन्। आयोजक इंग्ल्याण्ड ४ खेलमा ६ अंक बटुल्दै चौथो स्थानमा रहेको छ।

खेलमा वेस्ट इन्डिजले दिएको ३२२ रनको बिशाल लक्ष्य पछ्याएको बंगलादेशले मात्र ४१.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। बंगलादेशको जितमा एकदिवसीय क्रिकेटमा शिर्ष स्थानमा रहेका अलराउन्डर शाकिब अल हसनले पुनः आफ्नो महत्त्व प्रकास पारे।

बंगलादेशको लागि सौम्य सरकारले २९ रन बनाउंदै तामिम इकबालसँग मिलेर ५२ रनको साझेदारी गरे। दोश्रो विकेटको लागि शाकिबसँग ६९ रनको साझेदारी पछी तामिम पनि ४८ रनको स्कोरमा रन आउट भए। लगत्तै लेग स्टम्पको बललाई फाइन लेगमा प्रहार गर्न खोज्दा मुश्फिकर रहिम १ रनमा विकेट किपरबाट समातिए।

त्यसपछि भने शाकिबले आफ्नो करियरको ९ औं एकदिवसीय शतक तथा लिटन दासले चौथो अर्धशतक बनाउदै बंगलादेशलाई सहज जित दिलाए। उनिहरुले चौथो विकेटको लागि अविजित १८९ रनको साझेदारी गरे। शाकिबले अविजित १२४ रन बनाउँदा ९९ बलमा १६ चौका हाने। त्यस्तै अविजित ९४ रन बनाएका दासले ६९ बलमा ८ चौका र ४ छक्का हिर्काए।

बलिंगतर्फ वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र ओशाने थोमसले १/१ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको वेस्ट इन्डिजले ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो। उसका पनर क्रिस गेल १३ बल खेल्दै खाता नखोली मोहम्मद सैफुद्दीनको बलमा क्याच आउट भएका थिए।

दोश्रो विकेटको लागि अर्का ओपनर इभिन लुइस र शाइ होपले ११६ रनको साझेदारी गरे। लुइस ७० रन बनाएर आउट भए जसअघि ६७ बलमा ६ चौका र २ छक्का प्रहार गरे।

होपले एक किनार सम्हालीरहे र तेश्रो विकेटको लागि निकोलस पुरनसंग ३७ रनको तथा चौथो विकेटको लागि शिमरन हेटमेयरसंग ८३ रनको साझेदारी गरे। पुरन २५ तथा हेटमेयर ५० रन ( २६ बलमा ४ चौका र ३ छक्का ) बनाएर आउट भए। आन्द्रे रसेल खाता नखोली आउट भए पछि होपले जेसन होल्डरसंग ३९ रनको साझेदारी गरे। होल्डरले ३३ रन ( १५ बलमा ४ चौका र २ छक्का ) बनाए।

४७ औं ओभरमा होप पनि आउट भए जो शतक पुरा गर्न मात्र ४ रनले चुक्न पुगे। १२१ बलमा उनले ४ चौका र १ छक्का प्रहार गरेपछि मुस्तफिजुर रहमानको बलमा क्याच आउट हुन पुगे।

५० ओभरमा वेस्ट इन्डिजले ८ विकेट गुमाएर ३२१ रनको योगफल तयार गर्यो। डेरेन ब्रहो १९ तथा ओशेन थोमस ६ रन बनाएर अविजित रहे।

बंगलादेशको बलिंगमा मोहम्मद सैफुद्दीन ( १०-१-७२-३ ) र मुस्तफिजुर रहमान ( ९-०-५९-३ ) ले ३/३ विकेट तथा शकिब अल हसनले ( ८-०-५४-२ ) ले २ विकेट लिए।

Loading...