सुन्दर बन्न आमाहरु बच्चालाई स्तनपान गराउनै छाडेको डरलाग्दो तथ्य

काठमाडौं, २० साउन । नेपालमा पूर्ण स्तनपान दर घट्दै गएको पाइएको छ। स्तनपान गराए सुन्दरतामा ह्रास आउने, तौल बढ्ने, स्तनको आकार बिग्रिने जस्ता भ्रम र कामकाजी आमासँग बच्चालाई दुध चुसाउने समय नहुँदा आधुनिक आमाहरूले आफ्नो दुधको सट्टा बजारमा पाइने कृत्रिम दुध खुवाउने प्रवृत्तिका कारण पूर्ण स्तनपान दर घट्दै गएको हो।

हरेक एक सय जना शिशुमा ५३ जना आमाको दुध खान नपाएर न्यूनपोषण भई मृत्यु हुने गरेको बालस्वास्थ्य महाशाखाका प्रमुख राजकुमार पोखरेलले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको एक हजार दिनभित्र शिशुको ८० प्रतिशत मानसिक विकास हुन्छ, यसबेला आमाको दुधभन्दा पोसिलो चिज अरू केही हुँदैन। बच्चा गर्भमा हुँदाको नौ महिना र जन्मेको दुई वर्षसम्मको अवधिलाई सरकारले सुनौलो हजार दिन घोषित गरेको छ।

कम्तीमा ६ महिनासम्म शिशुको पोषण आमाको दुधमा भर पर्छ भन्ने थाहा हुँदाहुँदै पनि बच्चाहरू आमाको दुध खानबाट वञ्चित भइरहेको बाल रोग विशेषज्ञहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालय र हेलेन केलर इन्टरनेसनलले २०११ मा गरेको सर्वेक्षणअनुसार नेपालमा पूर्ण स्तनपानको दर ६९ प्रतिशत थियो। २०१५ सम्म आइपुग्दा पूर्ण स्तनपानदर ६६ प्रतिशतमा झरिसकेको छ। बर्सेनि पूर्ण स्तनपानको दर अझै घट्दै जाने मन्त्रालयको अनुमान छ।

सन् १९९१ देखि विश्व स्वास्थ्य संगठनले प्रसूति तथा नवजात शिशु स्याहार प्रदान गर्ने सबै स्वास्थ्य संस्थाहरू आमा–बच्चामैत्री बनाई अस्पतालबाटै स्तनपानको सुरुवात गराउने नीति बनाएको थियो।

Loading...