त्रिमूर्ति पुरस्कार चटौत, चन्द र दिवसलाई

काठमाडौँ, १९ साउन । त्रिमूर्ति निकेतनले ‘प्रभास–गीता–महाकाव्य’का रचनाकार आरडीप्रभास चटौत, प्रथम नेपाली नायिका भुवन थापा चन्द र वरिष्ठ कवि तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

ताम्रपत्रका साथै ती पुरस्कारका राशि जनही रु पचास हजार रहनेछन् । नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पु¥याएबापत चटौतलाई ‘लेखनाथ काव्य पुरस्कार’ समर्पण गरिने भएको छ ।

त्यस्तै नाटक र चलचित्रका क्षेत्रमा पूर्ण रुपमा समर्पित भई नेपालमा नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पु¥याउन उद्दत भुवन चन्दलाई ‘बालकृष्ण सम पुरस्कार’ तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पु¥याएबापत दिवसलाई ‘देवकोटा काव्य पुरस्कार’ समर्पण गरिने भएको त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

त्यसैगरी नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रहँदै २०६५ र २०६६ सालमा सम्पन्न देवकोटा शताब्दी महोत्सव तथा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन, २०७१ सालमा सम्पन्न विश्व नारी नेपाली साहित्य सम्मेलन र २०७१ देखि ०७४ सालसम्म सम्पन्न सत्यमोहन जोशी शताब्दी महोत्सवको गरिमामय उचाइ अभिवृद्धिका लागि समेत विशिष्ट योगदानका लागि यादव भट्टराईलाई त्रिमूर्ति पुरस्कार र ललिता दोषीलाई त्रिमूर्ति पदक समर्पण गर्ने निर्णय भएको छ

ताम्रपत्रसहित पुरस्कार र पदकको राशि जनही रु पच्चीस हजार रहनेछ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते ती पुरस्कार काठमाडौंँमा समर्पण गरिने बताइएको छ ।

Loading...